आइतबार, फागुन ११, २०८१

अदालतको आदेशपछि रोकिएको फिल्म ‘लाज शरणम्’को प्रचार-प्रसार पुनः सुरु


काठमाडौँ, ११ फागुन :  पाटन उच्च अदालतको आदेशपछि रोकिएको फिल्म ‘लाज शरणम्’ को प्रचार-प्रसार पुनः सुरु भएको छ । युट्युब प्लाटफर्मबाट हटाइएका टिजर र गीतलाई पुनः सार्वजनिक गर्दै निर्माताले पब्लिसिटी थालेका हुन् ।

आइतबार बेलुकादेखि फिल्मको टिजर र गीत ‘हेर्दा हेर्दैमा’ पुनः युट्युबमा देखापर्न थालेका छन् । निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख अर्जुन घिमिरे पाँडेले युट्युबमा टिजर फर्किएसँगै प्रचार सुरु भएको बताए । उनका अनुसार, ट्रेलर रिलिजबारे अन्योल छ । ट्रेलर नआउने सम्भावना बलियो रहेको उनले बताए । केन्द्रीय चलचित्र जाँच समितिले आइतबार बिहान प्रदर्शन अनुमति दिएसँगै फिल्मको प्रचार-प्रसारमा लागेको रोक हटेको थियो ।

पूर्वमन्त्री अफताव आलमको मुद्दामा अदालती सुनुवाइपछि यसअघि प्रचारप्रसार रोकिएको थियो । घिमिरेका अनुसार सोमबार अपरान्हदेखि फिल्मको एड्भान्स टिकट विक्री सुरु हुनेछ । अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको सेभेन सिज इन्टरनेसनलले टुंगो लागेका अन्तर्राष्ट्रिय बजारको सूची पनि ल्याउँदैछ ।

कुमार कट्टेल निर्देशित यो फिल्म बुधबार प्रदर्शन तयारीमा छ । रिलिज हुन २ दिन बाँकी रहँदा निर्मातालाई ट्रेलर र प्रचारप्रसारको धपेडी छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ