म्याग्दी, ८ फागुन : म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ ।
सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट बिनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधिन र तीन वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ । थप तीन वटा योजनाको ठेक्का आव्हानको तयारीमा छन् ।
बेनी नगरपालिकाका ईञ्जिनियर सुदिप गौतमले रु. २५ लाख बजेट बिनियोजन भएको बेनी–लभ्लिहिल–ज्यामरुकोट सडक स्तरोन्नति र रु. ३० लाख ५० हजार बजेटको कालिपुल कृषि भवनको ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले काम सम्पन्न गरिसकेका बताउनुभयो ।
बेनी–लभ्लिहिल–ज्यामरुककोट सडकको रु. २० लाख १७ हजार सात सय छ र कालिपुल कृषि भवन निर्माणका लागि रु. २६ लाख पचास हजारमा सम्झौता गरेका थिए । संघीय सरकार र बेनी नगरपालिकाको ५०/५० प्रतिशत साझेदारीमा रु. तीन करोड बजेट बिनियोजन भएको बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकको ८० प्रतिशत भौतिक प्रगति भएको ईञ्जिनियर गौतमले बताउनुभयो ।
गत पुष १९ गते रु. दुई करोड नौ लाखमा ठेक्का सम्झौता गरेको विवेक–दुप्चेश्वर–शुभम् जेभीले बेनी नगरपालिका–७ खानेपानी कार्यालय नजिकै सडकको प्रवेशबिन्दु, कुरिलाखर्कको रातो पहिरो, आँपरुखको घुम्ती र नेप्टेचौर स्थित बेनपा–९को वडा कार्यालय देखि गिठिनी हुदै पात्लेखेत तर्फ साँघुरो र अप्ठ्यारो ठाउँमा सुधारको काम अन्तिम चरणमा पु¥याएको हो ।
बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाको सात वटा वडालाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडक बेनी नगरपालिकाको सबै भन्दा ठूलो र धेरै बजेट भएको योजना हो ।
रु. ६२ लाख ६७ हजार आठ सय ३८ मा ठेक्का सम्झौता भएको अर्थुङ्गे–पुलाचौर र रु. ७५ लाख ९७ हजार चार सय ५२ मा ठेक्का सम्झौता भएको महारानीथान–छाप–डाँडाखेत सडकको २०/२० प्रतिशत भौतिक प्रगति भएको छ । रु. एक करोड बजेट बिनियोजन भएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामा गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा सञ्चालन भएको हो ।
रु. ५९ लाख ८८ हजार एक सय ७० मा ठेक्का सम्झौता भएको रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रम र श्रीलक्ष्मीहरी मन्दिरको पुर्वाधार निर्माणको आठ प्रतिशत प्रगति भएको छ । गण्डकी प्रदेश सरकारले रु. ४० लाख बिशेष अनुदान उपलब्ध गराएको पशु बधशाला निर्माण योजनाको ठेक्का प्रस्ताव मूल्याङ्कनको चरणमा छ ।
रु. ३० लाख बिनियोजन भएको गलेश्वर बजार सौन्दर्यकरण योजनाको ठेक्का सम्झौताको चरणमा रहेको र रु. ७२ लाख बजेट रहेको बेनी–पुलाचौर सडकको लागत अनुमान तयार गरेर ठेक्का आव्हानको प्रक्रीयामा छ ।
रु. २५ लाख बिनियोजन भएको बेनीको खुल्ला मञ्च खेलमैदान र संघीय सरकारको रु. ६० लाख बिशेष अनुदान रहेको कालीगण्डकी स्वच्छता कार्यक्रम मार्फत म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाह र मलामी घर बनाउन ठेक्का आव्हानको तयारी गरेको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।
उहाँका अनुसार खुल्ला मञ्च खेलमैदानका लागि संघीय सरकारबाट बिनियोजन भएको रु. २० लाख उपभोक्ता समिति मार्फत कार्यान्वयनको प्रक्रीया अघि बढेको छ । नमूना विद्यालय कार्यक्रम अन्तर्गत बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा प्रशासनिक, प्रयोगशाला भवन र घेराबार निर्माणका लागि बिनियोजन भएको रु. एक करोड बजेट योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भएको छ ।
१० वटा वडा रहेका बेनी नगरपालिकाले बजेट बिनियोजन गरेका दुई सय ९९ वटा वडा स्तरीय योजना मध्य आर्थिक वर्षको सात महिनामा एक सय सात वटा सम्पन्न, ८५ वटा सम्झौता हुन बाँकी र एक सय सात वटा कार्यान्वयनमा रहेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।
बेनी नगरपालिकाले पूर्वाधार आयोजनाहरुका लागि यस वर्ष रु. १२ करोड ४३ लाख २५ हजार बजेट बिनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका २१ वटा योजना मध्य चार वटा सम्झौता भएका र १७ वटा सम्झौता गर्न बाँकी छन् । रु. पाँच लाख सम्म बजेटका योजनाहरु वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको छ ।
योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन र प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । सदरमुकामबाट वडा कार्यालय र मुख्य बस्ती जोड्ने मूल सडकलाई स्तरीय बनाउन प्राथमिकता दिएको उहाँले बताउनुभयो ।