आइतबार, माघ ०६, २०८१

जिल्ला प्रशासन कार्यालय म्याग्दीले मिलायो अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था


म्याग्दी, ५ माघः जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ ।

यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ । प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड (सङ्केत) नम्बरसहित प्रशासनमा पठाउँछन्”, उहाँले भन्नुभयो, “सङ्केत नम्बर लिएर आउने सेवाग्राहीको विवरण रूजु गरेर प्रशासनले नागरिकता प्रदान गर्छ ।

अनलाइन प्रणालीबाट नागरिकता सिफारिससम्बन्धी सेवा प्रवाहका लागि विसं २०६० चैत ७ गतेभन्दा पछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत वितरण भएका नागरिकताको विवरण सफ्टवेयरमा प्रविष्ट गरिएको छ । विसं २०६० चैत ७ गते बेनी भीडन्तका क्रममा प्रशासनका कागजपत्र जलेका कारण अभिलेख नराखिएको हो ।

राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, आन्तरिक राजस्व कार्यालयले जारी गरेको प्यान नम्बर, सवारी चालक अनुमतिपत्रलाई पनि सफ्टवेयरमा समावेश गरिएको छ । अनलाइनमार्फत सिफारिस गर्दा नागरिकता सिफारिसमा हुने गलत क्रियाकलाप नियन्त्रण हुने, सेवाग्राहीलाई झन्झट नहुने र कर्मचारीलाई पनि काम गर्न सजिलो भएको प्रजिअ ढकालको भनाइ छ ।

म्याग्दीका छवटै स्थानीय तहका ४५ वटा वडाका अध्यक्ष, सचिव र पञ्जीकरण शाखाका कर्मचारीलाई अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस गर्ने प्रक्रियाको विषयमा तालिम दिइएको थियो । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले यसअघि सेवाका लागि निवेदन आवश्यक नपर्ने व्यवस्था मिलाएको थियो । सिफारिसकै आधारमा सेवा दिने व्यवस्था मिलाएपछि सेवाग्राहीलाई सहज भएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading