शुक्रबार, माघ ०४, २०८१

नागरिकका विवरण दुरुपयोग हुन नदिने गृहमन्त्री लेखकको प्रतिबद्धता


काठमाडौँ, ४ माघ : गृहमन्त्री रमेश लेखकले सुशासन प्रवद्र्धन, सहज ढङ्गले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय परिचयपत्रका सम्बन्धमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उहाँले सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भएको बताउनुभयो ।

राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका जैविक तथा व्यक्तिगत विवरणको सुरक्षाप्रति सरकार संवेदनशील रहेको दोहो¥याउँदै गृहमन्त्री लेखकले ती विवरणको सुरक्षाका गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नागरिकको व्यक्तिगत विवरण राज्यसँग हुनुपर्छ, तर त्यसको दुरुपयोग हुन दिँदैनौँ”, उहाँले भन्नुभयो, “डेटा सुरक्षामा सरकारले ध्यान दिन्छ ।

गहन अध्ययन गरेर राज्यका नीतिका रुपमा अघि सारिएको राष्ट्रिय परिचयपत्रको कार्यान्वयन अनिवार्य भएको जनाउँदै गृहमन्त्रीले ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा अशक्त व्यक्तिका हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य नगरिएको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन, प्रशोधन र छपाईसम्बन्धी कार्य तथा तथ्याङ्कको सुरक्षा र भण्डारणको अवलोकन गरी आमनागरिकलाई यसप्रति आश्वस्त पार्ने भूमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।

गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले राष्ट्रिय परिचयपत्र लागू गर्ने सन्दर्भमा भएका गतिविधिबारे जानकारी दिनुभएको थियो ।

परिचयपत्रका विवरण सुरक्षामा सांसदको चासो

छलफलमा सांसदहरुले राष्ट्रिय परिचयपत्र प्रणालीमा राखिएका नागरिकको जैविक र व्यक्तिगत विवरणको सुरक्षा सम्बन्धमा चासो राख्नुभएको थियो । सांसद हृदयराम थानीले उक्त प्रणालीमा रहेका नागरिकका व्यक्तिगत विवरणको सुरक्षामा संवेदशील हुनुपर्ने बताउनुभयो ।

सांसद सरिता प्रसाईंले राष्ट्रिय परिचयपत्रका तथ्याङ्कको सुरक्षाका सम्बन्धमा राज्यले नागरिकलाई आश्वस्त पार्नुपर्नेमा जोड दिनुभयो । समितिका अर्का सदस्य कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय परिचपयपत्रको आवश्यकता र महत्वबारे सरकारले नागरिकलाई बुझाउनुपर्ने बताउनुभयो ।

समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय परियचपत्रसम्बन्धी नागरिकका विवरणको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गर्दै यसको कार्यान्वयनका क्रममा उत्पन्न जटिलतालाई सरलीकृत गर्नुपर्छ भन्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading