सुदूरपश्चिम, १८ पुसः सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जीवन रानालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आयोगको सदस्यमा डा. हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त हुनुभएको छ ।
धनगढी उपमहानगरपालिका–८ निवासी नवनियुक्त उपाध्यक्ष रानाले राना थारु समुदायको सांस्कृतिक जीवन विषयमा विद्यावारिधि गर्नुभएको थियो । प्रदेश सरकारले आयोगको उपाध्यक्षमा पहिलो पटक महिला नियुक्त गरेको हो ।
उपाध्यक्षमा नियुक्त राना नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारु समुदायबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । आयोगको सदस्यमा नियुक्त डा. हिरा चन्द कञ्चनपुरको भीमदत्त नगरपालिका–१० र शेरबहादुर भण्डारी डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका निवासी हुनुहुन्छ ।
नवनियुक्त उपाध्यक्षलाई आज साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित समारोहमा मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको सपथ गराउनुभयो ।
मुख्यमन्त्री शाहले आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यबाट विकास र समृद्धिको मार्गमा प्रदेशलाई डो¥याउन आवश्यक नीति निर्माण र तिनको कार्यान्वयनमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।