शुक्रबार, पुष १९, २०८१

माइती नेपालद्वारा नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार


जानकी (बाँके), १७ पुसः माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेच-बिखन तथा ओसार-पसारविरुद्ध सञ्चारकर्मीसँगको मङ्गलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काम, विवाह, घुमघाम, किनमेल लगायतको बहाना बनाएर नाका पार हुन थालेका शङ्कास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि उनीहरुलाई नेपाल फिर्ता गरिएको हो । संयोजक कोइरालाले एक वर्षमा सात सय ७७ जनाको खोजतलासको निवेदन परेको र चार सय सात जना फेला परेको बताउनुभयो ।

भारत तथा तेस्रो मुलुकमा पुगेकाहरु सम्पर्कमा नआएपछि आफन्तीले खोजतलासको निवेदन दिने गर्दछन् । संयोजक कोइरालाले सन् २०२४मा खोज-तलासको निवेदन धेरै पर्नेमा बाँके जिल्ला अगाडि रहेको जानकारी दिनुभयो । जोखिमपूर्ण यात्रा गर्दै नाका पार हुनेहरुमा प्रायः जसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालहरु बेच-विखनमा सक्रिय रहेको उल्लेख गर्दै संयोजक कोइरालाले तीनै तहका सरकारसँग समन्वय गरेर मानव बेचबिखन नियन्त्रणसम्बन्धी काम गरिरहेको बताउनुभयो । माइती नेपालले मानव बेच-बिखन नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच गर्नुका साथै भारत लगायतका मुलुकमा बेचिएका र बेच-बिखनको जोखिममा परेका महिला तथा बाल-बालिकालाई उद्धारका निम्ति काम गर्दै आएको छ ।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले मानव बेच-विखन सामाजिक कलङ्क र सङ्गठित अपराध भएको उल्लेख गर्दै त्यस्ता क्रियाकलापमा संलग्नलाई निरुत्साहित गर्न सञ्चार-माध्यमको अहम भूमिका हुने बताउनुभयो । अध्यक्ष गिरीले मानव बेचविखन विश्वव्यापी समस्या भएकाले यसको नियन्त्रण र रोकथामका लागि सुरक्षा कूटनीतिको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading