शुक्रबार, पुष १९, २०८१

बिपीको मेलमिलाप नीति अहिले पनि आवश्यक छ : मुख्यमन्त्री पाण्डे


लेखनाथ (कास्की), १६ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रियता र प्रजातन्त्र स्थापना गर्नकै लागि बिपीले तत्कालीन राजासँग मेलमिलाप गरेको बताउनुभएको छ ।

उनान्चासौँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसर पारेर आज नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित प्रवचन कार्यक्रममा उहाँले भन्नुभयो, “राष्ट्रियता र प्रजातन्त्र कमजोर भएको अवस्थामा बिपीले मेलमिलापको नीति लिनुभएको हो ।

नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रथम जननिर्वाचित बिपी कोइरालाले राष्ट्रियता जोगाउन ठूलो जोखिम मोल्नुभएको स्मरण गर्नुभयो । उहाँले राष्ट्रिय शक्तिलाई बलियो बनाउन आएको सङ्घीयताका बारेमा विरोध र टीकाटिप्पणी गर्नु गलत भएको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव श्रीनाथ बरालले बिपीले अँगालेको बाटोलाई दलहरूले अँगाल्दै जाने हो भने नेपालमा धनी र गरिबबीचको खाडल कम हुँदै जाने बताउनुभयो । त्यति बेलाको समयमा प्रवासमा बसेकै बेला राष्ट्रियता र प्रजातन्त्रप्रति चिन्तित बिपीको मेलमिलाप नीतिबाट नै आज हामी यहाँसम्म आइपुगेको भनाइ उहाँको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री पञ्चराम गुरूङले मुलुक बचाउन फुटेर मैन मिलेर जानुपर्छ भन्ने नीति लिएकै कारण बिपी राजनीतिमा सफल भएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका नेता शङ्कर बरालले राष्ट्रियता र प्रजातन्त्र रक्षाका लागि बिपी कोइराला दूरदर्शी नेताको रूपमा चिनिँदै आएको बताउँदै लोकतन्त्र नै खतरामा पार्ने गरी ल्याइएको सङ्घीयता खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल समाजवादी पार्टीका नेता किरण थापाले राष्ट्रियता भूगोलमा मात्र नभएर नेपाली जनताले पनि अनुभूति गर्नु पाउनुपर्ने बताउनुभयो । बिपीको मेलमिलाम नीतिलाई ठूला पार्टीले त्यति महत्त्व नदिएको भनाइ उहाँको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading