लमजुङ, १४ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यले जातजाति, धर्म र संस्कृतिलाई बराबरका रूपमा हेरेको बताउनुभएको छ ।
लमजुङ बेँसीसहर नगरपालिका–७ मा तमु ल्होसार २०८१ का अवसरमा तमु ह्युल छोंज धीं लमजुङको आयोजनामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले २०६२/६३ सालको आन्दोलनपछि नयाँ सविधान निर्माण गर्दै मुलुकलाई धर्म निरपेक्ष राज्य बनाएको बताउनुभयो । सबैले एक अर्काको धर्मसंस्कृतिको सम्मान गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
सञ्चारमन्त्री गुरुङले सहकारीको वर्गीकरण हुनुपर्ने उल्लेख गर्दै सहकारी नियमनकारी बनाएर सरकार अघि बढ्ने बताउनुभयो । सहकारीले निश्चित ठाउँमा मात्रै कारोबार गर्न पाउनेगरी नियमनकारी गठन गरेर तोक्ने उहाँको भनाइ थियो । स्थानीय तहमा सञ्चालन गर्ने, स्थानीय तहमा दर्ता, प्रदेशमा सञ्चालन हुने प्रदेशमा र केन्द्रमा सञ्चालन हुने सहकारी केन्द्रमा दर्ता भएर मात्रै सञ्चालन हुनुपर्ने उहाँले बताउनुभयो ।
सहकारीमा दोषी देखिए जो कोहीलाई पनि कानुनी कारबाही हुने सञ्चारमन्त्री गुरुङले बताउनुभयो । संबिधान संशोधन प्रमुख ठूला दलहरुको सहमतिमा हुने सरकार प्रवक्तासमेत रहनुभएका उहाँले बताउनुभयो । गाउँगाउँमा सबै जनताले अनुभूति गर्नेगरी विकास निर्माणका कार्यमा सरकार लागिपरेको उहाँको भनाइ थियो ।
सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्ने उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्न सकेमा देशको अरबौँ रुपैयाँ राजस्व बचत हुने बताउनुभयो । नेपालमा हुलाक टिकटसमेत आफ्नो प्रेसमा छाप्न सकिएको अवस्था नरहेको भन्दै मन्त्री गुरुङले वर्तमान सरकारले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गरेर आफ्नै प्रेस सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रेस सञ्चालनमा देखिएका समस्या र अवरोधहरुलाई समाधान गरेर सरकारले यसलाई छिट्टै प्रक्रियामा लैजाने मन्त्री गुरुङले बताउनुभयो । प्रेस पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकेमा हुलाक टिकट, लेबल–स्टिकर, लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्र, राहदानी, बैङ्क नोट छाप्न विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो । नेपालीका लागि आवश्यक छपाइसँग जोडिएका सबै नेपालमै हुने गरी प्रेस सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले यस्ता चाडपर्वले राष्ट्रिय एकता बलियो बनाउने बताउनुभयो ।