कास्की, १४ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा कुनै पनि काम हुन नदिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिको आज सपथ तथा पदस्थापन कार्यक्रममा उहाँले प्रेसलाई कुण्ठित गर्न खोजियो भने प्रजातन्त्र कमजोर हुन्छ भन्ने आफूलाई राम्रो अनुभूति रहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्रेसलाई कुण्ठित गर्न खोजियो भने प्रजातन्त्रको अवस्था के हुन्छ भन्ने कुरा राम्ररी अनुभूति गरेका छौँ । साथसाथै प्रेस र प्रेस स्वन्त्रतालाई खोस्न चाहनेको हालत के भयो भनेर इतिहासमा हाम्रै देशमा देखिएको छ ।” नागरिकले पत्रकारिता र सामाजिक सञ्जालबारे भिन्नता छुट्टाउन नसकेको उहाँले उल्लेख गर्नुभयो । सामाजिक सञ्जालमा आउने हरेक कुरालाई नागरिकले समाचारका रुपमा ग्रहण गरिहेकाले पत्रकारिता र सञ्जालको फरक स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“सामाजिक सञ्जालका कारण नकारात्मक भावना फैलिएको छ । त्यसलाई पत्रकारिताले चिर्नु आवश्यक छ । नत्र भने पत्रकारको आफ्नै इज्जत, मान र प्रतिष्ठामा आँच आउने अवस्था छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
गण्डकी प्रदेशमा लामो समयदेखि रोकिएको आमसञ्चार विधेयक सरकारले पारित गरेर कानुनअनुसार प्रेस रजिष्टार नियुक्त गरे पनि यो सरकारी निकाय मात्र नभई पत्रकारको हकहितका लागि आवाज उठाउने निकाय समेत रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको सामाचारलाई मूलधारका सञ्चार माध्यमले स्थान नदिएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “जिल्ला र प्रदेशका समाचारलाई केन्द्रले प्राथमिकता दिएको देखिएको छैन । सरकारको पक्षमा लेखिदिनुहोस् भनेर म भन्दिन । पक्ष अथवा विपक्षमा जे भए पनि सरकारका गतिविधिबारे चासो राखेर लेखिदिनुहोस् भन्ने मेरो आग्रह हो ।”

गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले प्रेस रजिष्टारको कार्यालयले पत्रकारिताको क्षेत्रमा गर्नुपर्ने कामका लागि सबैको सल्लाह र सुझाव लिएर कार्यविधि बनाउने काम गरिरहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सोनी शर्माले पत्रकार महासङ्घ क्रियाशील पत्रकारहरुको मात्र संस्था बन्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशमा नयाँ पुस्ताको आकर्षण बढाउने काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पत्रकारको हकहितका साथै क्षमता विकासका लागि ११ वटै जिल्लामा कार्यक्रम गर्ने योजना रहेको सुनाउनुभयो ।
निर्वतमान अध्यक्ष नारायण शर्माले प्रदेश समितिले चुनौतीका बीचमा धेरै काम गरेको बताउनुभयो । अध्यक्षका प्रत्याशी गोविन्द सुवेदीले महासङ्घले सबै पत्रकारलाई समेटेरे लैजानुपर्ने र पेशागत आचारसंहिता पालनामा जोड दिनुभयो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक कोमलनाथ बरालले प्रदेश समितिमा नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















