काठमाडौँ, ११ पुस : पाकिस्तानको सैन्य अदालतले गत वर्ष इमरान खानको रिहाईका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जना सर्वसाधारणलाई सजाय सुनाएको छ । पूर्वप्रधानमन्त्री खानलाई गत वर्षको मे महिनामा पदबाट हटाइएपछि पक्राउ गरिएको थियो र उहाँले देशका शक्तिशाली सैन्य नेताहरूविरुद्ध अवहेलनाको अभूतपूर्व अभियान चलाउनुभएको थियो ।
भ्रष्टाचारको आरोपमा उहाँलाई हिरासतमा लिएपछि राष्ट्रव्यापी अशान्ति फैलिएको थियो र केहीले सहभागीले सशस्त्र बलका प्रतिष्ठानमाथिसमेत निशाना बनाएका थिए ।
पाकिस्तानमा दशकौँदेखि प्रत्यक्ष रूपमा शासन गर्दै आएको र अझै पनि ठूलो प्रभाव रहेको सेनाले गत ग्रीष्मयाममा अभियुक्तहरूविरुद्ध मुद्दा चलाउने बताएको थियो। शनिबारसम्म धेरै हदसम्म गोप्य रहेको र पहिलो २५ जनालाई दोषी ठहर गरिएको यो प्रक्रियाबारे संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र बेलायतले यसको निन्दा गरेका थिए ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “पाकिस्तानी सैन्य अदालतमा न्यायिक स्वतन्त्रता, पारदर्शिता र उचित प्रक्रियाको ग्यारेन्टीको अभाव छ ।”
बिहीबार थप ६० जनालाई दोषी ठहर गरिएको घोषणा गर्दै सेनाले ‘कोर्ट मार्सल’ सम्पन्न भइसकेको जनाएको छ । फैसला अनुसार ८५ जनालाई दुईदेखि १० वर्षसम्मको ‘कठोर कारावास’ को सजाय सुनाइएको छ । सेनाले उनीहरूको सजाय के हो भनेर स्पष्ट पारेको छैन, उनीहरूको अपराधको स्थान मात्र सूचीबद्ध गरेको छ।
“राज्य, सरकार र सशस्त्र बल न्यायको रक्षा गर्न र राज्यको अलङ्घनीय अधिकार कायम राख्न आफ्नो प्रतिबद्धतामा अडिग छन्,” सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीले बिहीबार दोषी ठहर भएका व्यक्तिहरूमध्ये पूर्वप्रधानमन्त्री खानका भतिजा पनि रहेको र उहाँलाई एक दशकको जेल सजाय सुनाइएको जनाएको छ ।
“सैन्य अदालतमा मुद्दा चलाउनुले नागरिकको मौलिक अधिकारलाई कुण्ठित गरेको छ,” फैसलापछि खानलाई भेट्न जेलमा पुगेका उहाँका वकिल र पत्रकारसँग भएको कुराकानीको सारांशलाई उद्धृत गरी खान निकट अधिकारीले बताए ।