गोदावरी (कैलाली), ११ पुसः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सीमित स्रोत र साधनकाबीच स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
आज गोदावरी नगरपालिका–१ बिजौरामा निर्माण गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्वास्थ्य सामग्री भण्डारण भवनको उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा विकास साझेदार संस्थाले पनि सहयोग गरिरहेको बताउनुभयो । केन्द्रले आवश्यकता र औचित्यका आधारमा सुदूरपश्चिमका स्वास्थ्य संस्थालाई स्वास्थ्य उपकरण सामग्री वितरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
केन्द्रको स्वास्थ्य सामग्री भण्डारणले प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महामारीजस्ता आपत्कालीन अवस्थामा भण्डारण भवन महत्त्वपूर्ण सावित हुनेछ ।”
उहाँले स्वास्थ्य सेवामा भएको यो सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको र आगामी दिनमा स्वास्थ्य क्षेत्रका अन्य परियोजना पनि अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो ।