सोमबार, पुष ०८, २०८१

दाङको गहते–बाघमारे–हापुरे सडकबीचमा पर्ने भमके खोलामा पुल निर्माण सुरू भएपछि खुसी


तुलसीपुर, २२ मङ्सिर : दाङको गहते–बाघमारे–हापुरे सडकबीचमा पर्ने भमके खोलामा पुल निर्माण सुरू भएपछि त्यस क्षेत्र भएर आवतजावत गर्नेहरू खुसी भएका छन् । शान्तिनगर गाउँपालिका–५ चिराघाटका ऋषिराज अधिकारीले वर्षातको समयमा खोलो बढ्दा आवतजावतमा समस्या हुने गरेको भए पनि अब पुल बनेमा सहज हुने भन्दै खुसी व्यक्त गर्नुभयो । “वर्षातमा निकै समस्या हुन्थ्यो, खोलाले आवतजावत नै रोक्ने अवस्था हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब यो समस्या टरेको छ ।

त्यस्तै, तुलसीपुर–१ भमकेका रामबहादुर चौधरीले पनि खोलामा पुल बन्न लागेकाले आवतजावतमा सहज हुने बताउनुभयो । बहुवर्षीय ठेक्काका रूपमा रहेको उक्त पुल निर्माण भएमा आवतजावतमा सहज हुनेछ । यसअघि पुल नहुँदा वर्षातमा पानीको बहाव बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो ।

सडक बीचमा पर्ने उक्त खोलामा बक्स कलभर्ट पुल निर्माण हुनेछ । त्यसका लागि शारदा निर्माण सेवासँग रू दुई करोड १२ लाख ६४ हजारमा सम्झौता भएको छ । साथै सोही सडकको बौलाहखोलामा पनि पुल निर्माणका लागि सोही निर्माण कम्पनीसँग सम्झौता भएको छ । बैलाहाखोलाको काम भने सुरू भएको छैन । गएको असारमा सम्झौता भएको भमके खोलाको पुल निर्माण कार्य १८ महिना भित्र सक्नुपर्ने सम्झौता रहेको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिषकुमार अर्यालले बताउनुभयो ।

पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरूमा आफूले बहुवर्षीय ठेक्का हुनेगरी बजेट विनियोजन गरेको भन्दै त्यसको कार्यान्वयनका लागि आफू लागिरहेको लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले बताउनुभयो । उहाँले पश्चिम दाङको सडक तथा पुलहरूका लागि आफू मन्त्री हुँदा पनि बजेट हालेको र अहिले सांसद हुँदा पनि बजेट बिनियोजन गरेको भन्दै त्यसको कार्यान्वयनको विषयमा पनि पटक–पटक अनुगमन गरिरहेको उहाँको भनाइ छ । अहिले सम्झौता गरेर काम गर्नुपर्ने भए पनि पर्याप्त बजेट नहुँदा भने समस्या भएको कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading