मङ्गलबार, पुष ०९, २०८१

समाजमा सहयोगको भावना वृद्धि गरेर लैजानुपर्छ : अध्यक्ष प्रचण्ड


काठमाडौँ, १५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःखपीडामा परेकालाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै सहयोगको भावना वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

दुर्घटनापछि अध्यक्ष दाहाल कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावकत्व लिने घोषणा गर्नुभएको थियो । उहाँको घोषणालाई समथर्न गर्दै उद्धव नेपालले गरिमा र अनुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पाठ्य-पुस्तक लगायत शैक्षिक सामग्री र पोशाक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

सहयोग घोषणा कार्यक्रममा अध्यक्ष दाहालले शैक्षिक सामग्री सहयोग गर्ने नेपाल, घटनालगत्तै एकताबद्ध भएर यो पीडालाई उजागर गर्दै सहयोग सङ्कलन गर्ने आलापोटवासी र निःशुल्क अध्ययनको व्यवस्था मिलाउने विद्यालयलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “समाजमा पीडामा भएका र सेवा आवश्यक भएकालाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ ।

पार्टीले बालिकाहरुको अभिभावकत्व लिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसलाई पूरा गर्ने र कक्षा १२ सम्म पार्टीले नै अभिभावकत्व लिएर बुवाआमा गुमाएका दुई छोरीलाई पठनपाठनको व्यवस्था मिलाउने बताउनुभयो । सो क्रममा सहयोगी नेपालले बालिकाका परिवारलाई शैक्षिक सामग्री पनि हस्तान्तरण गर्नुभएको थियो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading