३० कात्तिक, काठमाडौं । अजरबैजानको राजधानी बाकुमा आयोजित राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गरे ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल यही कात्तिक २५ गते अजरबैजान गएका थिए ।
सम्मेलनलाई उनले २७ गते सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका थिए ।