02/24/2026, 19:54:48
मङ्गलबार, फागुन १२, २०८२

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त


म्याग्दी, फागुन १२ गते । जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई दाताहरूले आर्थिक सहयोग गरेर ऋणमुक्त बनाएका छन् ।

निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवनलगायत पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो ।

 

पूर्वशिक्षक, व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा बाँसखर्कका पूर्वप्रधानपञ्च लालबहादुर पुनका नातिनीहरूले सहकारीको ऋण तिरेर विद्यालयलाई ऋणमुक्त बनाएका हुन् ।

पुन परिवारले सहकारीमा रहेको रु नौ लाख २९ हजार ऋण तिरेर धितो राखेको जग्गाधनी प्रमाणपत्र फिर्ता गराएको प्रअ खत्रीले जानकारी दिए। लालबहादुरका नातिनी ज्वाइँ कमलबहादुर पुर्जा, नातिनीहरू पार्वती, राधा, सीता, शान्ति र पनाति पवनको तर्फबाट विद्यालयलाई सहयोग प्राप्त भएको हो । सहयोगदाताहरूलाई सोमबार बाँसखर्कमा विद्यालयले कार्यक्रमसहित सम्मान गरेको थियो ।

विद्यालयले धितो रहेको प्रअ खत्रीको जग्गाधनी प्रमाणपत्र फिर्ता गरेको थियो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ९४ जना विद्यार्थीहरू रहेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..