10/18/2025, 22:18:12
शनिबार, कार्तिक ०२, २०८२

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित, तीन विधेयक अलपत्र


कैलाली, कात्तिक १ : जेन-जी आन्दोलनका क्रममा भएको आगजनीपछि खण्डहर बनेको सुदूरपश्चिम प्रदेश सभा अहिले मर्मत–संभारको क्रममा छ । सचिवालयतर्फका प्रशासनिक काम पुनः सञ्चालन भए पनि प्रदेश सभा बैठक भने अनिश्चित बनेको छ ।

बैठक सञ्चालनका लागि चाहिने आधारभूत संरचना ध्वस्त भएपछि अहिले बैठक आह्वानको तयारीसमेत गरिएको छैन । सचिवालयका अनुसार चालु अधिवेशन पनि अन्त्य भएको छैन । आन्दोलनकै कारण स्थगित भएको चालु अधिवेशनको बैठक पनि अहिलेसम्म बसेको छैन ।

बैठक सञ्चालनका लागि चाहिने भौतिक पूर्वाधार अभावले बैठक तत्काल सञ्चालन गर्न नसकिने सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । उनका अनुसार प्रमुख सचिव, आर्थिक सचिवलगायत सबै मन्त्रालयका सचिव र प्रदेश सभाका सचिवबीच बैठक सञ्चालनको विषयमा छलफल भएको छ ।

सचिवज्यूहरूको छलफलपछि सहरी विकास कार्यालयलाई मर्मत–संभारको अनुमान (इस्टिमेट) तयार गर्न पत्राचार गरेका छौं । अहिले हाम्रो प्राथमिकता प्रदेश सभाको बैठक सञ्चालनका लागि हल निर्माण गर्ने तयारीमा छ ।

प्रदेश सभामा बैठकसँगै दर्ता भएका तीनवटा विधेयकको काम पनि अनिश्चित बनेको छ । टीकापुर प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि बनेको विधेयक, बढघर भल्मन्सासम्बन्धी विधेयक र वन ऐन संशोधन विधेयक हाल स्थगित अवस्थामा छन् । ‘तीनै विधेयकको प्रक्रिया आगामी बैठकमा मात्र अघि बढ्छ,’ सूचना अधिकारी जैसीले भने ।

उनका अनुसार हाल सभामुख र मुख्यमन्त्री दुवै जिल्लाबाहिर रहेकाले बैठक आह्वानबारे राजनीतिक छलफल पनि हुन सकेको छैन । आन्दोलनका कारण प्रदेश सभा बैठक बस्ने हल, संसदीय दलका कार्यालय, समितिका कार्यालय र सचिवालयका कक्षहरू सबै ध्वस्त भएका छन् ।

सचिवालयले तत्काल बैठक बस्नु पर्ने अवस्था रहेको पनि जनाएको छ । जसका लागि वैकल्पिक उपायको खोजी भइरहेको छ । ‘बैठक सिटी हलमा वा प्रदेश सभा परिसरमै टेन्ट हालेर सञ्चालन गर्न पनि सकिन्छ,’ सूचना अधिकारी जैसीले भने, ‘तर यसको लागि राजनीतिक दलहरूबीच समन्वय र सहकार्य आवश्यक छ ।

सात करोड बराबरको जिन्सी क्षति

जेन-जी प्रदर्शनका क्रममा आगलागीबाट सबै भन्दा बढी क्षति हुने कार्यालयमध्ये सुदूरपश्चिम प्रदेश सभा पनि एक हो । आगजनी र तोडफोडबाट सभाका कुनै भवन पनि सग्ला छैनन्, न त भवनभित्रका कुनै सामान बाँकी छन् ।

प्रदेश सभा सचिवालयले संकलन गरेको विवरणअनुसार सभामा सात करोड बराबरको जिन्सी क्षति भएको छ । सबै भौतिक संरचना ध्वस्त छन् । यद्यपि, भौतिक क्षतिको मूल्यांकन भने अझै हुन सकेको छैन ।

सचिवालयका भवन, शाखा, कागजात र सवारीसाधनमा ठूलो क्षति पुगेको छ । पाँचवटा मोटरसाइकल र सातवटा गाडी जलेका छन् । सचिवको कार्यकक्ष, लेखा शाखा र जिन्सी शाखामा सबैभन्दा ठूला क्षति भएको सचिवालयले जनाएको छ ।

हाल प्रदेश सभाको सचिवालयभित्र सबै कर्मचारी एउटै ठाउँमा बसेर अस्थायी रूपमा काम गर्दै आएका छन् । ‘लेखा शाखा र जिन्सी शाखामा रहेका जिन्सी सामग्रीसँग सम्बन्धित सबै कागजात, श्रेस्ता जलेर नष्ट भएका छन्,’ सूचना अधिकारी जैशीले भने, ‘तर, आर्थिक र प्रशासनिक डाटा भने प्रविधिका कारण सुरक्षित छन् ।’ उनका अनुसार अहिले ती शाखालाई अस्थायी रूपमा अन्यत्र सारेर काम भइरहेको छ ।

– रञ्जना बिसी