रेसुङ्गा(गुल्मी), असोज १९ : मुसिकोट नगरपालिका–२ का सुरज केसी दसैैँमा आउँदा दुई दिन मुग्लिनको पहिरोका कारण जाममा बस्नुपर्याे । जेनतेन तीन दिन गाउँमा दसैँ रमाइलो नै रह्यो । तर, व्यापारका कारण सहर फर्किनुपर्ने बाध्यता केसीसँग छ । शनिबार बुढाथोकी बसपार्क आइपुगेपछि मात्र केसीले काठमाडौँ पुग्ने सडक अवरुद्ध भएको थाहा पाउनुभयो तर उहाँले घर फर्किने वा काठमाडौँ जाने केही सोच्नै नसकेको गुनासो गर्नुभयो । केसीले भन्नुभयो,”गाउँ आउने बेला दुई दिन मुग्लिनमा फसियो काठमाडौं फर्किने कुरा पनि अनिश्चत बन्यो । घरबाट हिडिसकेकाले निकै दोधारमा परिरहेको छु ।’
पहाडमा एक दिन मात्र टीका हुने भएकाले भोलीपल्ट फर्किनेहरु बसपार्क आउँछन् । दसैँपछि पूर्णिमासम्म गुल्मी पश्चिमका विभिन्न स्थानमा सरायँ नाच हुने भएकाले अत्यावश्यक काम बाहेकका व्यक्ति फर्किदैनन् । व्यापार व्यवसाय, निजी कम्पनीहरुमा जागिर गर्ने, सेना, प्रहरी र परदेश जाने यात्रुहरुको बसपार्कहरुमा घुइँचो सुरु भएको छ । तर, फर्किनेहरुमा मौसमको पिरलो सबैभन्दा बढि छ ।
मदाने गाउँपालिका–३ सिर्सेनीका सुवास घर्तिको परदेशको छुट्टि सकिन थाल्यो । दसैँ मनाएर काठमाडौंको सानो काम सक्न घरबाट हिडिहाल्नुभयो । मौसम अनुकुन छैन साइत सरेपनि टिकट सर्दैन । उहाँले भन्नुभयो, “आधा मन बनाएर झोला बोकेर घरबाट हिँडे । बुटवल गएर जहाज चढ्छु भनेर हिडेपनि उडानहरु बन्द भएकाले निकै पीडा भएको छ ।”
विस्तारै दसैंमा घर आएकाहरुको गन्तव्यमा फर्किने चटारो सुरु हुन्छ । गुल्मेली नागरिकको यात्रा सहजताको लागि जिल्लामा करिव चार सय सार्वजनिक सवारी साधन छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार सबैभन्दा धेरै गुल्मी यातायात प्रालिका ३५० सवारी साधन छन् । ती मध्ये २८० अहिले रुटमा सञ्चालन भइरहेका छन् । अरु बेलाभन्दा बुटवलका लागि मात्रै १५ सवारी साधन थपेर ६९ वटा सञ्चालन गरेको गुल्मी यातायात प्रालिले जनाएको छ ।
त्यस्तै रुरु–रेसुङ्गा यातयात प्रालिका ३१, मैत्री यातायात प्रालिका २३, पश्चिम नेपाल यातायात प्रालिका २४, रेसुङ्गा यातायात प्रालिका आठ र आँगन यातायात प्रालिका १९ सवारी साधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी नायव निरीक्षक ज्ञान बहादुर कुँवरले जानकारी दिनुभयो । गुल्मीका गाउँहरुबाट बुटवल सम्मनै गाडीहरु पुग्ने गरेका छन् । तर, काठमाडौंबाट पर्याप्त बस छैनन् । अहिले मौसमको कारण लामो दुरीमा काठमाडौंको टिकट कुनै यातायात कम्पनीहरुले वितरण नगरेको कुवँरले बताउनुभयो । पाल्पा प्रशासनको निर्णयका कारण असोज १९ र २० गते रिडी–पाल्पा–बुटवल सडक पनि बन्द भएको छ । जसका कारण कुनै सवारीसाधन बुटवलको लागि छुटेका छैनन् ।
यात्रुहरुको समस्यालाई समाधान गर्न जिल्लाका १२ भन्दा बढि गाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहरदेखि गाउँसम्मको यात्रा सुरक्षित बनाउन जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मीको समन्वयमा पर्व केन्द्रित यात्रु सहायता कक्ष स्थापना गरिएको हो । दसैंमा घर आउने र गन्तव्यमा फर्किने यात्रुहरुको चाप बढि हुने भएकाले जिल्लाको मुख्य प्रवेशद्धार रिडी, देउराली, तम्घास बसपार्क, उदिनढुङा, पुर्कोट, शान्तिपुर र वामी बजारमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
– टोपलाल अर्याल