नेपालगन्ज, असोज १६ : दसैं सुरु हुनुभन्दा पहिले नै सुरु भएर दसै सकिएको केही दिन पछिसम्म पनि नाचिने सखिया नाचको रौनक अहिले बाँके र बर्दियाका थारु गाउँबस्तीमा छाएको छ ।
थारु समुदायको बसोबास रहेको दुबै जिल्लाका सबैजसो गाउँबस्तीमा साँझ हुने बित्तिकै सखिया नाच नाचिने गरेकाले अहिले राति अबेरसम्म गाउँबस्तीमा रौनक बढेको हो । बाँके बैजापुरका थारु अगुवा हेमन्त थारुले एक साता अघिदेखि दिनभरि काम भ्याइसकेपछि साँझपख गाउँमा नाच्दैआएको सखिया नाच दसैंको दिन विहीबार दिनभरि नाच्ने बताउनुभयो ।
टीकाको दिनसम्म युवायुवती मिलेर नाचिने उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एकजना गुरुवाको व्यवस्था गरिएको तथा गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुने गरेको उहाँको भनाइ छ ।
‘यो नाचका लागि कम्तिमा चार–पाँचजना मादल बजाउने युवा हुन्छन् । १५–२० जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया, रातो रङको रिबन लगाउने गर्छन्’ बाँके नौबस्ताका युवा नरेन्द्र चौधरीले भन्नुभयो ।
उहाँका अनुसार सखिया नाचमा विशेषत थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवम् रक्षाको माग गर्ने चलन रहिआएको छ ।
बर्दिया राजापुरका सोम डेमनडौराले सखिया नाच विशेषतः युवायुवतीले नाच्ने गरे पनि विवाहित सबै उमेरसमूहका महिला र पुरुषले समेत नाच्ने गरेको जनाउँदै नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइने बताउनुभयो ।
उहाँले दसैंको बेलामा थारु गाउँबस्तीमा सो नाचका कारण बेग्लै प्रकारको रौनक र उमङ्ग छाएको बताउनुभयो । गाउँका सबै साथीसङ्गी मिलेर नाचिने भएकाले यो नाचको नाम सखिया रहेको थारु अगुवाहरुको भनाइ छ । यो नाच सकिएपछि जम्मा भएको पैसा सबै मिलेर माछा, मासु र अन्य परिकार तयार पारी खाने प्रचलन रहेको जनाइएको छ ।
– सिराज खान