खजुरा, असोज १४ : नेपाली हिन्दुहरुको ठुला चाडपर्वहरु तीज, दसैँ तथा तिहार सुरु हुनेबित्तिकै केही वर्ष अघिसम्म पहाडी जिल्लाका गाउँघरहरुमा भिन्नै किसिमको उत्साह, उमङ्ग तथा वातावरण सुरु हुन्थ्यो ।
तिज, दसैँ तथा तिहार मान्नका लागि लाहुर गएका परदेशीहरु गाउँ फर्कन्थे । सहरबजार गएकाहरु पनि सबैजना गाउँ फर्कन्थे । चाडपर्व संस्कार र संस्कृति तथा परम्परा मात्र नभएर वर्षौँसम्म टाढा भएका साथीभाइसँग र घरपरिवारसँग मिलन र भेटघाट हुने मौका पनि हुने गथ्र्यो ।
परदेश र सहर बजारबाट गाउँघरमा आएका युवाहरु जम्मा भएर सार्वजनिक स्थलहरुमा पिङ हालेर रमाइलो गर्न विभिन्न तयारी गर्दथे । तिजको गीत तथा नृत्य हुने सार्वजनिक स्थलहरुमा खरले बाटेको ज्युरे (लिङ्गे) पिङ र काठबाट बनाइएको जाँते र चर्खे (रोटे) पिङहरु खेलिन्थे । ती पिङहरु तिहारसम्म हुन्थे । सबैले पिङ खेलेर रमाइलो गर्ने गर्दथे । वर्षमा एक पटक भूँइ छाड्नुपर्ने चर्चा चल्थ्यो ।
गाउँमा भएका युवाहरु जम्मा भएर हरेक घर–घरबाट सामूहिक रुपमा खर जम्मा गर्ने, जङ्गलमा गएर आवश्यक काठको जोहो गरेर ज्युरे पिङ, जाँते पिङ र चर्खे पिङ बनाउने गर्दथे । गाउँघरमा भएका ठुला वरपीपलका रुखहरुमा खरको ज्युरे पिङहरु हुन्थे । सार्वनिक स्थलहरुमा काठका जाँते र चर्खे पिङहरु हुने गर्दथे । ती पिङहरुले चाडबाडलाई स्वागत गरेको अनुभूति हुन्थ्यो ।
पछिल्ला केही वर्ष यता रोजगारी तथा अध्ययनको सिलसिलामा हरेक गाउँका युवाहरु बाहिरिन थालेपछि अहिले तराई पहाडका गाउँघरहरुमा पिङ संस्कृति हराउँदै जान थालेको छ । कतिपय ठाउँमा त संस्कार तथा संस्कृति समेत पुस्तान्तरण हुन नसक्दा पिङ लोप हुँदैगएको छ । अहिले पहाडका गाउँहरुमा अपवाद बाहेक पिङ देख्नै पाइँदैन ।
“केही वर्ष अघिसम्म चाडपर्व सुरु हुने बित्तिकै रौनकता छाउँथ्यो । गाउँका युवाहरु मिलेर घरमा खर जम्मा गर्ने र जङ्गलबाट काठ जोहो गरेर ल्याएर वरपीपलका रुखहरुमा ज्युरे पिङ र मेला लाग्ने सार्वजनिक स्थलहरुमा जाँते र चर्खे पिङ हाल्ने गर्दथे” ऐरावती गाउँपालिका वडा ६ का स्थानीय यामबहादुर गुरुङले भन्नुभयो, “अहिले त गाउँमा युवा पनि छैनन्, रोजगारी र अध्ययनका लागि बाहिर छन्, गाउँका ज्येष्ठ पुस्ताको मृत्यु भइसक्यो, संस्कार र संस्कृति पुस्तान्तरण गर्नका लागि पनि युवा भएनन्, गाउँघरबाट पिङ लोप हुन थाल्यो ।”
यता सहर बजारतिर भने सोखका कारण ज्युरे (लिङ्गे) पिङ यदाकदा देख्न सकिन्छ । सहरबजारका ठुला होटलहरु, सार्वजनिक चोक चौतारातिर ज्युरे पिङ देख्न पाइन्छ । होटलहरुले चाडबाडका समयमा ग्राहकहरुलाई आकर्षित गर्न र पहाड तथा गाउँतिरबाट विभिन्न पेशा, व्यवसाय, अध्ययन तथा रोजगारीका लागि आएका तर चाडबाडमा आफ्ना थातथलो जान नपाएकालाई लक्षित गरी पिङ राखेको पाइन्छ ।
आफ्नो सोख पूरा गर्न तथा इच्छा पूरा गर्नका लागि उनीहरु होटलमा बनाइएका ज्युरे पिङ खेलेर रमाइलो गर्नेगरेको पाइन्छ । “हामीले हरेक वर्ष तिज, दसैँ र तिहारलक्षित गरेर होटल परिसरमा लिङ्गे पिङ हाल्छौँ, यो हाम्रो संस्कार र संस्कृति हो, दसैँमा एकछिन भए पनि भुइँ छाड्नुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ” होटल सिद्धार्थ भ्यु नेपालगन्जका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले भन्नुभयो ।
“ग्राहकलाई आकर्षित गर्न मात्र नभएर संस्कार र संस्कृति बचाउने उद्देश्य हो, परिवारसहित आउनुहुन्छ, केही समय भए पनि पिङ खेलेर रमाइलो गर्नुहुन्छ, नयाँ पुस्तालाई यसका बारेमा जानकारी पनि हुन्छ, पिङ दसैँ आयो भन्ने सिम्बोल हो” उहाँले भन्नुभयो ।
हुम्लाका दिपेन्द्र भण्डारीलाई दसैँ भन्नेबित्तिकै पिङको याद आउँछ । उहाँ हुम्लामा जन्मिनुभयो । हाल उहाँको परिवार बाँकेको कोहलपुर बस्दैआएको छ । परिवारसँगै उहाँ पनि यतै बसोबास गर्दै आउनुभएको छ । उहाँलाई गाउँमा हुँदाको दसैँको उमङ्गमय माहोलको झल्झली सम्झना आउँछ ।
“आफू जन्मेको ठाउँ । दसैँको रौनक । साथीहरु मिलेर पिङ खेलिन्थ्यो । रमाइलो गरिन्थ्यो । बहुतै रमाइलो हुन्थ्यो गाउँतिर, चाडबाडका समयमा सबैभन्दा धेरै पिङको याद आउँछ । दसैँ बिदा हुनेबित्तिकै सबैजना साथीहरु मिलेर जङ्गलमा गएर पिङका सामानहरु ल्याइन्थ्यो र पिङ बनाइन्थ्यो ।” दिपेन्द्र भन्नुहुन्छ, “त्यसरी सामूहिकरुपमा पिङ हालेर खेल्दा छुट्टै आनन्द आउँथ्यो, अहिले सम्झना मात्र छ ।”
सांस्कृतिक परम्परागसँग जोडिएको पिङ संस्कृति पछिल्ला दिनहरूमा आएर बढ्दो आधुनिकतासँगै मनोरञ्जनका लागि थुप्रै साधन थपिँदै जानु, जनशक्ति, स्थान, समय र आवश्यक कच्चा पदार्थहरूको समेत अभाव हुन थालेपछि गाउँघरतिर कमै मात्र लिङ्गे पिङ बनाइन्छ । स्थानीय सरकार, युवा र सर्वसाधारणले संस्कृति संरक्षणतर्फ ध्यान नदिएको देख्दा नेपालीको मौलिकता हराउन थालेको पूर्खाहरुको गुनासो छ ।
– गजेन्द्र गुरुङ