09/08/2025, 13:21:35
सोमबार, भदौ २३, २०८२

दाउन्नेमा हुने छैन सडकको सकस


काठमाडौँ, भदौ २३ : मुलुकको पूर्वबाट पश्चिम सिमाना छिचोल्ने पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको निर्माणाधीन नारायणगढ–बुटवलखण्डमा दसैँ-तिहारलगायतका चाडपर्वमा निर्वाध रूपमा सवारीसाधन सञ्चालन गर्न प्रयास गरिएको छ ।

मुलुकको पूर्वी र मध्य भू–भागसँग पश्चिम भू–भागलाई जोड्ने मुख्य राजमार्गको सो खण्डमा बिनाअवरोध सवारीसाधन सञ्चालनका लागि मुख्य समस्याका रूपमा रहेको दाउन्नेमा आवश्यक जनशक्ति र उपकरण तैनाथ गरिएको सडक विभागले जनाएको छ । सो ठाउँमा अहिलेसम्म कालोपत्र हुन सकेको छैन । त्यहाँको सडक ठाडो उकालो र साँघुरो भएकाले सवारीसाधन अत्यधिक जाम हुँदै आएको छ । त्यसै गरी थोरै पानी पर्दा पनि सडक हिलाम्मे हुने र सवारीसाधन उकालो चढ्न नसक्ने समस्या देखिएका छन् ।

सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) का उपआयोजना निर्देशक शोभा गिरीले आउन लागेको चाडपर्वमा नारायणगढ–बुटवल सडकखण्डमा सवारीसाधन सञ्चालनमा कुनै समस्या आउन नदिन आयोजनाको सम्पूर्ण ध्यान केन्द्रित गरिएको बताउनुभयो । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) अन्तर्गत राजमार्गको यस खण्डको विस्तार भइरहेको छ ।

उहाँले दसैँतिहारदेखि छठसम्म सो खण्डको समस्याका रूपमा रहेको दाउन्नेमा थप सडक खन्ने कार्य नगर्न र भित्ता नकाट्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिइसकिएको जानकारी दिनुभयो । त्यसै गरी सो खण्डमा पहिरो हटाउन र सवारीसाधन जाम वा अन्य कारणले फसेको अवस्थामा त्यसलाई निकाल्न सहजीकरणका लागि जनशक्ति र उपकरण तैनाथ गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले चाडपर्वसम्म प्राविधिक जनशक्तिलाई बिदा नदिनसमेत निर्माण कम्पनीलाई आग्रह गरिएको बताउनुभयो ।

७० प्रतिशत भौतिक प्रगति

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी ध्रुवकुमार श्रेष्ठले आयोजनाको अहिलेसम्मको कुल भौतिक प्रगति ६९.१८ प्रतिशत पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार सो खण्डको कुल ११३ किलोमिटरमध्ये ६१.६ किलोमिटर चार लेन, ३१.५३ किलोमिटर दुई लेन (एकतर्फी) कालोपत्र सम्पन्न भइसकेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ गरी एकैसाथ विस्तार भइरहेको छ । दाउन्ने क्षेत्रको चार किलोमिटरमध्ये एक किलोमिटरमा ढलान भइसकेको छ ।

करिब १७ अर्ब रुपियाँ लागत

आयोजनाका अनुसार कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । एसियाली विकास बैङ्क (एडिबी) ऋण सहयोगमा विस्तार कार्य भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानी छ ।

एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । आयोजनाका अनुसार गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपियाँ रहेको छ ।

४२ महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबिच सम्झौता भएको थियो । सम्झौता अनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

– भउचप्रसाद यादव