रेसुङ्गा (गुल्मी), भदौ २१ : जिल्लाका विद्युत नियमित छैन । विद्युत जाने वित्तिकै नेटवर्कले काम नगर्दा सत्यवति गाउँपालिका–१, २ र ३ अस्लेवा, चेहेमी, लुम्पेका नागरिकले समस्या झेल्दै आएका छन् । नेपाल टेलिकमको चेहेमीमा रहेको टावरको व्याट्री व्याकप बिग्रेको धेरै समय भए ।
टेलिकमले टावरमा लामो समयदेखि व्याट्री व्याकप मर्मत नगर्दा आफुहरुले नेटवर्कको समस्या झेल्दै आएको स्थायीय तथा लक्ष्मीपुर माविका शिक्षक शेरबहादुर कुँबरले गुनासो गर्नुभयो । आफुहरुले स्थानीय निकाय र कार्यालयमा ध्यानाकर्षण गराए पनि समस्या अझै उस्तै रहेको कुवँरले बताउनुभयो ।
सत्यवती गाउँपालिका–२ का वडाध्यक्ष खडग बिर थापाले लामो समयदेखि डाटा र नेटवर्कको समस्या झेल्दै आएकाले कार्यालयमा आफुले पत्राचार गरिसकेको जानकारी दिनुभयो ।
नेपाल टेलिकम कार्यालय गुल्मीका सूचना अधिकारी शंकरप्रसाद सुवेदीले चेहेमीमा रहेको व्याट्री व्याकप फेर्नुपर्ने भएकाले माथिल्लो निकायमा माग गरिएकाले छिट्टै समस्याको समाधान हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडा कार्यालय र स्थानीयको गुनासोको आधारमा व्याट्री व्याकप माग गरेका छौ । आफुहरुसँग स्रोत नभएकाले आउने वित्तिकै समस्या समाधान गर्छौ ।”