गुल्मी, भदौ १८ : पश्चिम गुल्मीको मदाने गाउँपालिकाले जिपलाइन र स्काइ साइक्लिङ सुरु गरेको छ । यस गाउँपालिका–७ भनभनेको रोल्मा तिखेचुलीमा निर्माण गरिएको जिपलाइ र साइक्लिङको मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कुँवरले नयाँ पुस्ताको आकर्षणलाई ध्यानमा राखेर साहसी खेलका रुपमा जिपलाइन र स्काई साईक्लिङ निर्माण गरिएको बताउनुभयो । उहाँले कृषि र पर्यटन नै समृद्धिको आधार भएकाले पर्यटकीय पूर्वाधार निर्माण गरिएको बताउनुभयो ।
रोल्मा तिखेचुली पर्यटन पुर्वाधार अन्तर्गत दुई पर्यटकीय संरचना निर्माण गरिएको हो । अर्घा कन्स्ट्रक्सन प्राली अर्घाखाँचीले ७४ लाख २५ हजार २९२ रुपियाँको लागतमा ३२० मिटर डबल जिपलाइन र ९० मिटर डबल स्काइ साइक्लिङ निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो ।
त्यस्तै, पर्यटनकै लागि तिखेचुलीमा करिब तिन करोड रुपियाँ बढिका धार्मिक तथा पर्यटकीय संरचना निर्माण गरिएको छ । जसअन्तर्गत आकर्षक मनकामना मन्दिर, बाल उद्यान, पिकनिक स्पोर्ट, गजुरसहितको पोखरी र घेराबारको काम गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो ।
मदाने गाउँपालिका उपाध्यक्ष सरिता खडकाले मदन भण्डारी राजमार्ग, सालझन्डी ढोरपाटन सडकको पहुँच मार्गको नजिक र तीन जिल्लाको संगमस्थल भएकाले व्यवसायिक रुपमा पनि भविष्य देखेर जिपलाइन र स्काइ साइक्लिङ सञ्चालन गरिएको उहाँले बताउनुभयो ।