08/15/2025, 10:33:33

मोटरसाइकल दुर्घटनामा शसस्त्र प्रहरीको मृत्यु, प्रहरी जवान गम्भीर


नवलपुर, साउन ३० : ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नवलपुरमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

मध्यबिन्दु नगरपालिका–८ फुलबारी उकालोस्थित पूर्व पश्चिम राजमार्गमा कावासोतीबाट दुम्किबासतर्फ जाँदै गरेको बा प्र ०६–००१ क ०४४४ नम्बरको मिनि ट्रकले विपरित दिशामा गुडिरहेको बा ७६ प २७१७ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार गएराति दुर्घटनामा परी मोटरसाइकल चालक ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत ३५ वर्षीया सशस्त्र प्रहरी जवान राजकुमार बोहोराको मृत्यु भएको हो ।

त्यसैगरी दुर्घटनामा कावासोती नगरपालिका–१४ सुन्दरबस्तीका ३० वर्षीय जितबहादुर महतो गम्भीर घाइते हुनुभएको छ । महतो २६ नम्बर गण पश्चिम नवलपरासी बेलासपुरमा दरबन्दी रहि हाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत रहनुभएको प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो ।

उहाँको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक र दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।