तौलिहवा (कपिलबस्तु), साउन २८ : कपिलबस्तुमा अनुदानको मल गायब गरेको आरोपमा प्रहरीले एक जना सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएको छ । मायादेवी गाउँपालिकाको डुमरास्थित चेतना विकास कृषि सहकारीले एक सय ९७ बोरा युरिया मल गायब भएको विषयमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक निरञ्जन दत्त भट्टका अनुसार कृषकहरुका लागि ल्याइएको युरिया मल कृषकलाई वितरण नगरी सहकारीले अन्यलाई बेचेको आरोपमा सहकारीका सञ्चालक वशिष्ठ पाण्डेयलाई नियन्त्रणमा लिइएको हाे । उहाँले भन्नुभयो, “विभिन्न समाजिक सञ्जाल, नागरिको गुनासो अनुसार मायादेवी ५ बलुहवाका कृषकलाई वितरण गर्न भन्दै कृष्णनगर स्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट ल्याइएको मल गायब भएको जनगुनासो आएको थियो ।” पक्राउ परेका पाण्डेय माथि अवश्यक कारवाही भइरहेको उहाँको भनाइ छ ।
सो विषयमा छानबिनका लागि स्थानीय कृषकहरूले गत साउन ११ गते मायादेवी गाउँपालिकामा समेत निवेदन दिएका थिए । जिल्लामा अनुदानको मल कृषि सहकारी र डिलरले कालोबजारी गर्ने गरेको कृषकहरूले बताएका छन् । ५० किलोको एक बोरालाई साढे नौ सय मा बिक्री गर्नुपर्नेमा कृषि सहकारीले दोब्बर बढी मूल्यमा बिक्री गर्ने गरेको कृषकहरूको भनाइ छ ।
जनता समाजवादी पार्टी नेपालले कृषकहरूलाई रासायनिक मलको सहज आपूर्ति तथा कालोबजारी अन्त्य गर्न माग गर्दै कपिलवस्तुको तौलिहवास्थित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।