08/04/2025, 00:06:20

भिजिट भिसासम्बन्धी मापदण्ड हटाउने तयारी


१८ साउन, काठमाडौं : अध्यागमन विभागत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखले अध्यागमन प्रशासन सुधार गर्ने उपयुक्त समय आएको बताएका छन् ।

भिजिट भिसा तस्करी प्रकरणमा अध्यागमनकै कर्मचारीहरु संलग्न भएको विषयमाथि अनुसन्धान जारी रहेका बेला विभागका महानिर्देशक रामचन्द्र तिवारी र विमानस्थल अध्यागमन प्रमुख नरहरि घिमिरेले समग्र अध्यागमन प्रशासन सुधार गर्न नीतिगत, संरचनागत र कानुनी संरचनालाई प्रभावकारी बनाएर अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।अध्यागमन विभागका कार्ययोजना र भइरहेका कामकारबाहीका विषयमा छलफल तथा समीक्षा कार्यक्रममा विभागका महानिर्देशक तिवारीले भिजिट भिसाको विषय अध्यागमन प्रशासनको एउटा पाटो मात्रै भएकोले समग्र सुधारका लागि सम्बद्ध मन्त्रालय र निकायहरुको एकीकृत पहल आवश्यक भएको बताए । तिवारीले भिजिट भिसामा विदेश जानेका लागि विगतमा ल्याइएका ‘पटके मापदण्ड’ राख्न आवश्यक नभएको पनि स्पष्ट पारे ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणका पालामा डेढ दर्जन जति बुँदा राखेर भिजिट भिसामा जानेलाई कस्ने गरी मापदण्ड ल्याइएको थियो । यसमा टेकेर अध्यागमनका कर्मचारीदेखि बिचौलियासम्मले नाजायज लाभ लिएका थिए । त्यसपछि अर्का तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठका पालामा ६ बुँदे मापदण्ड जारी गरियो । यसमा पनि भिजिट भिसामा जानेले सरकारका कडा शर्त पालना गर्नुपर्ने व्यवस्था समेटिएका छन् । अब यसअघिका दुवै मापदण्डलाई हटाएर भिसा र अवधि भएको राहदानी भए जान पाउने गरी अध्यागमनले खुकुलो नीति ल्याउन लागेको हो ।

तोकिएको अवधि उल्लेखित म्याद भएको राहदानी र सम्बन्धित देशले जारी गरेको भिसा लिएर कोही विदेश जान खोज्छ भने हामीले विमानस्थलमा रोक्नुपर्ने कुनै कारण छैन‘, तिवारीले भने, ‘विगतमा विभिन्न बुँदा राखेर भिजिट भिसामा जाने लक्षित मापदण्ड हटाउनुपर्ने देखिन्छ, छिट्टै यसबारे विभागले आवश्यक निर्णय लिन्छ ।’ उनले वैदेशिक रोजगारी वा भिजिट भिसाबारे देशको राष्ट्रिय नीति’ बनाउन पनि आवश्यक रहेको बताए । उनले भने, ‘एकातिर हामी वैदेशिक रोजगारी वा अरु माध्यमबाट विदेश जानेले पठाएको विप्रेषण बढ्यो भनेर गौरव गर्छौं, अर्कातिर विप्रेषण पठाउने मानिस कसरी गए ? किन गए ? श्रम स्वीकृति लिएर वा नलिई गए भनेर यो विषयलाई ‘अपराध’ जस्तो व्यवहार गर्छौ, यसमा संगती मिलेन, बरु विदेश जानेका लागि सरकारी प्रक्रिया पो सरलीकृत गर्नुपर्ने हो, यसमा कसैको ध्यान गएन ।

अध्यागमन प्रमुख तिवारीले अध्यागमन प्रशासनलाई चुस्त, प्रभावकारी र देशको हित अनुकूल बनाउन गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबीच प्रभावकारी समन्वय हुन आवश्यक रहेको स्पष्ट पारे । एउटा कर्मचारीले गरेको गलत निर्णय वा अपराधले समग्र कर्मचारी वा देशको छवि नै धुमिल बनाउने प्रवृत्ति पनि गलत भएको बताए ।

कसुरमा संलग्न जोसुकैले कारबाहीको भागिदार हुनुपर्छ तर एउटा कर्मचारीको गल्तीको दोष संस्थामाथि थोपर्नु गलत हो ।’ उनले एउटा मानिस भिजिट भिसामा जान ७/८ वटा गौँडा पार गरेर मात्रै विमानस्थलबाट प्रस्थान गर्ने गरेको र त्यसमा एउटा गौंडा अध्यागमन प्रशासन र बाँकी अरु एजेन्ट वा संयन्त्र रहेकाले यसको सूक्ष्म निगरानी आवश्यक रहेको बताए । त्यसका लागि विभाग, प्रहरी र राष्ट्रिय अनुसन्धानको संयन्त्रलाई अनुगमनका लागि क्रियाशील बनाउन लागिएको पनि बताए ।

विमानस्थल अध्यागमन प्रमुख घिमिरेले अध्यागमन प्रशासन देशको अनुहार रहेकोले यसका कामकारबाही देशको हितमा हुनुपर्ने र त्यसमै आफूहरु सक्रिय भएर लागेको बताए । पछिल्लो पटक विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराई भिजिट भिसा तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि सहसचिव विष्णुप्रसाद कोइरालालाई पठाइएको थियो । उनलाई पनि केही सातामै सरुवा गरेर खोटाङका प्रजिअ रहेका घिमिरेलाई विमानस्थल अध्यागमन प्रमुखमा सरुवा गरिएको थियो । यता, विभागका महानिर्देशक गोविन्द रिजाललाई गृह मन्त्रालय सरुवा गरी गृहका तिवारीलाई विभागको महानिर्देशक बनाइएको थियो ।

दुवै कार्यालयका प्रमुखले नयाँ जिम्मेवारी सम्हालेपछि आइतबार पत्रकारसँग नयाँ कार्ययोजनासहित छलफल गरेका हुन् । विमानस्थल अध्यागमन प्रमुख घिमिरेले पछिल्लो पटक विवादमा आएको भिजिट भिसा प्रकरण र अरु समग्र विषयलाई अब ‘अध्यागमन प्रशासन’ सुधारका लागि प्रस्थान विन्दु बनाएर अघि बढ्नुपर्ने बताए ।

हामीले अहिलेकै अवस्थामा नीतिगत, संरचनागत र कानुनी रुपमा सुधार गरी अध्यागमन प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन सकिँदैन, यसमा बृहत् सुधारको खाँचो छ, अहिले सबैभन्दा उपयुक्त बेला हो,’ घिमिरेले भने, ‘समग्र डिस्कोर्स चेन्ज गरी अघि बढ्नु पर्ने आवश्यक छ, पूर्वाधार, जनशक्ति, कानुनी, नीतिगत र समन्वयगत सबै हिसावले सुधार गरेर मात्रै अघि बढ्न देशको हित हुन्छ, यसमा हामी सबै एक भएर लाग्नुपर्ने देखिन्छ ।’ घिमिरेले यसका लागि अन्तरप्रणाली समन्वय र सहकार्य पनि महत्त्वपूर्ण रहेको बताए ।