07/27/2025, 02:48:37

मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने तुलसीपुरका ‘धनराज बुढाथोकी’


तुलसीपुर (दाङ), १० साउनः मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी । उहाँले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्नुहुन्छ । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्नुहुन्छ ।

आफैँले उत्पादन गरेको तरकारी विगत १० वर्षदेखि यसरी नै बजारमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । “मैले १० वर्ष भयो तरकारीखेती गरेको”, उहाँले भन्नुभयो, “यही तरकारी मोटरसाइकलको पडाडि जोडिएको डोकोमा लगेर बजार बिक्री गर्दै आएको छु, यसले नै घरखर्च धानेको छ ।

हरेक दिन बिहान ५ बजे उठेर उहाँले काँक्रा र बोडी गाउँगाउँमा लिएर बेच्नुहुन्छ । उहाँ तरकारी बिक्री गर्न खाद्रे, बनहरी, तल्लो ग्वारखोला, मथिल्लो ग्वारखोला, कपडादेवी, मोतिपुर, राजापुरसम्म पुग्नुहुन्छ । अहिले उहाँको दैनिकी यसरी नै बितिरहेको छ ।

अहिले दैनिक पाँच क्वीन्टल तरकारी र काक्रा बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “विगतका वर्षमा दैनिक सात÷आठ क्वीन्टलसम्म बिक्री गर्थे”, उहाँले भन्नुभयो, “यसबर्ष त्यति बजार पाएको छैन, त्यही पाँच क्वीन्टलसम्म बिक्री गर्ने गरेको छु ।

उहाँले बोडीलाई रु ५० किलोमा बिक्री गर्दै आउनुभएको छ, भने काँक्रा एक सय रुपैयाँमा साढे दुई केजी बिक्री गर्दै आउनुभएको छ । बोडी र काँक्राको सिजन असारदेखि साउनको अन्तिमसम्म रहन्छ । जसमा बोडी एक सिजनमा रु दुई लाखसम्मको कारोवार हुन्छ भने काँक्रा रु पाँच लाखसम्म कारोबार हुन्छ । यसमा खर्च कटाएर रु चारदेखि पाँच लाखसम्म एक सिजनमा आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

अब बोडी र काक्राको सिजन सकिनै थालेको भन्दै टमाटरखेती गर्ने तयारी गरेको उहाँले बताउनुभयो । वैशाखमा रोपिएका काँक्राले असार र साउनमा आम्दानी दिने र साउनमा रोपिएको टमाटरले कात्तिकदेखि चैतसम्म आम्दानी दिने बताउनुभयो । यसरी वर्षमा दुई सिजनमा तरकारी खेती गरेर आम्दानी लिने गरेको उहाँले बताउनुभयो ।