07/20/2025, 20:10:06

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल


काठमाडौँ, ४ साउनः सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको छ । छलफलमा भाग लिँदै सांसदहरूले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँहरूले वन्यजन्तुको सुरक्षा तथा मानव–वन्यजन्तु द्वन्द्व कम गर्न राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो ।

समितिका सभापति मायाप्रसाद शर्माले निकुञ्ज र मध्यवर्ती क्षेत्रलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा विस्तृत रूपमा छलफल गरेर सहकार्यमार्फत अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जभित्र खनिज पदार्थ भएमा के गर्ने ? कसरी व्यवस्थापन गर्ने ? यस विषयमा छलफल गरेर अगाडि बढ्नुपर्छ ।

समितिका सदस्य मदनकुमारी शाहले निकुञ्जभित्र सवारीसाधनको ठक्करबाट वन्यजन्तुलाई जोगाउन ‘अन्डरपास’ र ‘ओभरपास’ का पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान कानुनमा भएका झन्झटिला प्रावधानका कारण देखिएका समस्या समाधानका लागि विस्तृत छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

छलफलमा भाग लिँदै सुमित्रा विसी, रुक्मिणी कोइराला, श्रीकृष्ण अधिकारी, नरबहादुर विष्टलगायत सांसदहरूले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा रहेका विभिन्न प्रावधानका विषयमा सरोकार भएका निकाय तथा विज्ञसँग छलफल गर्नुपर्ने सुझाव दिनुभयो ।