06/30/2025, 03:51:58

कर्णालीको आर्थिक समृद्धिको आधार कृषिः मुख्यमन्त्री कँडेल


कर्णाली, १५ असारः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताउनुभएको छ ।

कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

अखिल नेपाल किसान महासङ्घ जिल्ला कमिटी सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली कृषि उत्पादनको सम्भाव्य भूमि भएको बताउनुभयो । यहाँको भौगोलिक अवस्थाले पनि विशिष्ट कृषि उत्पादनको सम्भावना बोकेकाले त्यसको वैज्ञानिक व्यवस्थापन गर्न सके कृषि क्षेत्रबाट नै रोजगारी, उत्पादन र आम्दानी बढाउन सकिने उहाँको भनाइ थियो ।

कृषिलाई जीविकोपार्जनको माध्यम मात्र नभई आम्दानी र रोजगारीको स्थायी स्रोतका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौँ तर त्यसका लागि सरकार, किसान, प्राविधिक, निजी क्षेत्र र समुदाय सबैको साझा प्रयास आवश्यक छ । खेतीपातीलाई अब जीविकोपार्जनको भर होइन, व्यवसायको मुख्य माध्यम बनाउँदै लैजानुपर्छ ।

कृषक पञ्जीकरण, कृषि सहुलियत ऋण, गुणस्तरीय बीउ र मलको वितरण, तालिम तथा सिँचाइ पूर्वाधारको विस्तारमा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । रोपाइँ महोत्सवमा स्थानीय, जनप्रतिनिधि, कृषि प्राविधिक, सङ्घ÷संस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ