देउखुरी (दाङ), १२ असारः यहाँ घरको भान्सा र तरकारीका बोक्रा, पातपतिङ्गरको प्रयोग गरेर गड्यौला मल बनाउन सिकाइएको छ । घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरीस्थित डाँफे पशुपालन समूहकी कोषाध्यक्ष फूलमानी चौधरीले गड्यौला मलका बारेमा सुने पनि खासै जानकारी नभएको बताउनुभयो ।
उहाँले तालिम लिएपछि गड्यौला मल बनाउने तरिका सिकेको र अब मल बनाएर तरकारी बारीमा प्रयोग गर्ने बताउनुभयो । गड्यौला मल प्रयोग गरेर तरकारीखेती गर्ने र जैविक तरकारी फलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
घोराही–२ सुकेडाँगीस्थित जलजला महिला कृषि समूहकी कोषाध्यक्ष सन्तोषी चौधरीले तालिमपछि गल्ने फोहर व्यवस्थापनबाट हुने फाइदाबारे जानकारी लिन पाएको बताउनुभयो । फोहर व्यवस्थापन पनि हुने र मल प्रयोग गर्न पाइने भएकाले तालिम उपलब्धिमूलक भएको उहाँले बताउनुभयो ।
स्वच्छ सफा नेपालका प्रशिक्षक करुणा थापाले गड्यौला मल बनाउने तरिका, यसका फाइदा र गड्यौलालाई बचाइराख्न अपनाउनुपर्ने तरिकाबारे जानकारी गराउनुभयो । गड्यौला मलको प्रयोगबाट तरकारी, फलफूल र अन्नबालीको उत्पादन राम्रो लिन सकिने र माटोको उर्वराशक्ति बढाउन सकिने प्रशिक्षकको भनाइ छ ।
तरकारीको बोक्रा, घाँसपात र सागसब्जी गड्यौलाको खाने वस्तु रहेको तथा सोही खानाबाट गड्यौलाले मल बनाउने उहाँले जानकारी दिनुभयो । गड्यौला मल बनाउँदा नुन, अमिलो, पिरो भएका खानेकुरा, चिल्लो र माछा मासुजन्य वस्तु राख्न नहुने उहाँले बताउनुभयो ।
स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाशविक्रम शाहीले जलवायु परिवर्तनका कारण धेरै खालका असर सिर्जना भइरहेको भन्दै पर्यावरण स्वच्छ राख्न नागरिकले आफ्नो आनीबानी र व्यवहारलाई परिवर्तन गर्दै स्वस्थ बनाउने काममा खटिन आग्रह गनुभयो ।
उहाँले जलवायु परिवर्तनले मानिसमा पार्ने असर, यसलाई न्यूनीकरण गर्न सरोकारवालाको दायित्व, नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । स्वच्छ वातावरण राख्न घर परिवारबाट सुरुआत गर्नुपर्ने र स्वच्छ सफा राख्नका लागि गड्यौला मल बनाउन सिकाएर फोहर व्यवस्थापना गर्न सिकाएको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले घरभित्र र बाहिरको फोहर व्यवस्थापन महत्वपूर्ण हुने भन्दै वातावरणमा स्वच्छ राख्न सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार जैविक विविधता संरक्षण गर्दै वातावरण स्वच्छ बनाउन गड्यौला मल बनाउने तालिमसँगै यसको प्रयोगबारे महिलालाई तालिम दिइएको हो ।
स्वच्छ सफा नेपालको आयोजना, मुक्तकमलरी विकास मञ्चको समन्वय र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोगमा इन्टरसेक्सनल ग्रिन फ्युचर्सः एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजनाअन्तर्गत दाङको घोराहीमा दुई दिने गड्यौला मल बनाउने तालिम दिइएको हो । कृषक समूह, पशुपालन समूहका महिला सहभागी तालिममा गड्यौला मल बनाउन र यसको प्रयोगबारे प्रशिक्षण गरिएको हो ।
कार्यक्रममा घोराहीभित्रका २, ४, ८ र १२ वडाका पशुपालक समूह, कृषक महिला समूहका २७ महिलाको सहभागिता थियो । तालिमपछि सहभागीलाई गड्यौला मल बनाउने, गमला र साढे एक किलो गड्यौला बीउपुँजीका रुपमा हस्तान्तरण गरिएको छ ।