काठमाडौँ, ८ असारः बालककालदेखि नै पशुपक्षीको हितमा क्रियाशील रघु आदित्यको पुस्तक ‘शाकाहारः तर्काधार’ शनिबार विमोचन भएको छ । कुनै पदानुक्रम र विशेष अतिथिबिनाको सो कार्यक्रममा पशु अधिकार र शाकाहार पर्वद्र्धनका लागि क्रियाशील प्रमदा शाह, मञ्जुश्री स्थापित, डा आयशा उप्रेती, इभा डङ्गोल, शोभा भुजेलले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको हो ।
विमोचनमा किताब लेख्दाका आफ्ना अनुभव बाँड्दै लेखक आदित्यले भन्नुभयो, “पशुले पाउने कष्ट बुझेर आठ वर्षकै उमेरमा माछामासु खान छाडेँ । पछि त दही दूधलगायत सबै पशुपक्षीजन्य पदार्थ खान छाडेँ । तर प्रश्नले मलाई कहिल्यै छाडेनन् । सबैको प्रश्नको उत्तर दिन फुर्सद पनि नहुने र सबैलाई स्पष्टीकरण दिँदा हत्तु भएकाले यो किताब लेखेर सबैलाई एकैचोटी उत्तर दिउँ झैँ लाग्यो ।”
पुस्तकमा लेखकले पूर्ण शाकाहारी (भिगन) जीवनशैलीप्रति उठ्ने प्रश्न र आलोचनालाई सक्दो सम्बोधन गर्ने प्रयास गरेका छन् । मूल रूपमा यी प्रश्नका उत्तर पुस्तकमा समावेश छन्, “शाकाहारी भएर शरीरको प्रोटिन आवश्यकता कसरी पूरा गर्छौं ? के पशुहरू मानव उपभोगका लागि होइनन् र ? पूर्ण शाकाहारी हुनु त धेरै कट्टरता नै होइन र ? शाकाहारीका नाममा धर्ममाथि अतिक्रमण त भएको छैन ?”
लेखकका अनुसार पुस्तक पाँच अध्यायमा विभाजित छ । आदित्यले भन्न्ुभयोे, “चार–पाँच वर्षको समर्पित प्रयासको नतिजा यो पुस्तक हो, जुन शाकाहारीप्रति उठ्ने बारम्बारका प्रश्न र आलोचनाको जवाफ हो । पशु अधिकारको वकालत र पशुप्रतिको क्रुरताविरुद्धको अडान पनि हो यो पुस्तक ।”
लेखकले कार्यक्रममा आफ्नी दिदी मोना श्रेष्ठ आदित्यप्रति यो क्षण सम्भव बनाउन दिएको साथप्रति कृतज्ञता व्यक्त गर्नुभयो । विमोचन समारोहपछि आदित्यकी ७० वर्षीया आमा सुमित्रा श्रेष्ठले रासससँग भन्नुभयो, “आज मेरो मन गर्वले भरिएको छ । छोराले प्रेम, करुणा, अहिंसा फैलाउन काम गरेको छ । एउटी आमाका लागि यो गर्वको कुरा हो ।”
‘एनिमल नेपाल’की संस्थापक र सञ्चालकसमेत रहेकी शाहले पुस्तक अन्तरराष्ट्रिय सत्रको रहेको बताउँदै नैतिकता, न्याय र पशुको आधारभूत अधिकारमा आधारित यसका तर्कको प्रशंसा गर्नुभयो । पत्रकार विन्देश दाहालले पनि शाहको मतमा सहमति जनाउनुभयो ।
नेपाल शाकाहारी सङ्घ (नेशासं) का अध्यक्ष कृष्ण गुरुङलगायत वक्ताले अनुसन्धानमा आधारित तर्कसहित शाकाहारी र भिगनहरुप्रति आउने आरोप र आलोचनालाई खण्डन गर्ने सन्दर्भमा पुस्तक शक्तिशाली भएको भन्दै प्रशंसा गर्नुभयो । गुरुङले नेशासंको तर्फबाट पुस्तकलाई आधिकारिक रूपमा समर्थन गर्ने घोषणा गर्नुभयो र भन्नुभयो, “पशु अधिकारको क्षेत्रमा यो यो मार्गदर्शक निर्देशिका हो ।”
छोराको कर्मप्रति गर्व गर्दै लेखकका पिता प्राध्यापक आनन्द आदित्यले भन्न्ुभयो, “यदि रघुले पूर्खाको ऋण नै तिर्नुपर्ने कुरा मान्ने हो भने पनि पुस्तक प्रकाशनले उहाँलाई त्यसबाट अब मुक्त गरेको छ ।” दुई सय ५२ पृष्ठको यो पुस्तकमा चित्रात्मक प्रस्तुति र सन्दर्भहरू समावेश छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



