06/05/2025, 00:50:05

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम


तानसेन (पाल्पा), २० जेठः सदरमुकाम तानसेनमा महिलाका लागि मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । कलाकारको छाता सङ्गठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा शाखाले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले एकहप्ते मादल बजाउने तालिम सञ्चालन गरेको हो ।

महिलालाई वाद्यवादनको सीप सिकाएर कला, संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले मादल बजाउने तालिम सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले बताउनुभयो । “मादल बजाउने सीप परम्परागत भए पनि आधुनिक गीत, सङ्गीत र उपकरणका कारण नयाँ पुस्ताले भुलिसकेका छन्”, उहाँले भन्नुभयो, “मौलिक कला, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरेका हौँ । यसले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन हुनुका साथै स्वरोजगारका अवसर सिर्जना हुने विश्वास लिएका छौँ ।

बेरोजगार महिला गाउँ, टोल, समाज र ग्रामीण क्षेत्रमा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा मादल बजाएर पनि आयआर्जन गर्न सकून् भन्ने मुख्य उद्देश्य रहेको अध्यक्ष भट्टराईले बताउनुभयो । हरेक कार्यक्रम र सभासमारोहमा कलाकार बोलाउने र आधुनिक गीत बजाएर मनोरञ्जन गर्ने प्रचलन हाबी भएकाले मौलिक संस्कृतिको जगेर्नाका लागि तालिम दिएर महिलालाई यसतर्फ आकर्षित गर्न खोजिएको उहाँको भनाइ छ । सात दिनसम्म तालिमबाट सीप सिकेपछि महिलाले जस्तोसुकै कार्यक्रममा पनि वाद्यवादकका रूपमा काम गर्नसक्ने भट्टराईले विश्वास व्यक्त गर्नुभयो ।

तालिमको शुभारम्भ गर्दै तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले तालिमले कला, ज्ञान, सीप आर्जनसँगै संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने बताउनुभयो । उहाँले भन्नुभयो, “तालिमले गाउँ, छिमेकमा हुने विभिन्न कार्यक्रममा मादल बजाउने व्यक्तिको अभाव हुँदैन भन्ने विश्वास लिएका छौँ ।” प्रवक्ता कार्कीले स्थानीय कला, संस्कृतिको संरक्षणमा प्रतिष्ठानले देखाएको चासो र सक्रियता महत्त्वपूर्ण रहेको भन्दै आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले तालिम मादल बजाउन मात्र सीमित नहुने भन्दै यसले संस्कृतिको संरक्षण, प्रवर्द्धनसँगै वाद्यवाधनको संरक्षण पनि हुने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सुमन गैरे, पाल्पा व्यापार सङ्घका उपाध्यक्ष कमल ढकाललगायतले तालिममा सिकेका ज्ञानलाई अभ्यासमार्फत दक्ष मादल वाधक बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

तालिममा महिलाका साथै मादल बजाउन सिक्ने इच्छुक बालबालिका, युवायुवतीसहित ३० जनाभन्दा बढी सहभागी छन् । तालिममा मादल बजाउने आधारभूत ज्ञान, सीप सिकाइने प्रशिक्षक तथा प्रतिष्ठानका उपाध्यक्ष रुपेश कार्कीले बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ