04/24/2025, 16:56:51

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि


काठमाडौँ, ११ वैशाख : सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ ।

नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर एउटा अधिवेशनको समाप्ति र अर्काे अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ ।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ । यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ ।

यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि हुने अनुमान छ । बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ ।

त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्री बजेट छलफल हुने जनाइएको छ । यस पटक लामो समयदेखि प्रतिक्षा गरिएका सङ्घीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भई निष्कर्षमा पु-याउन कोसिस हुनेछ ।

संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ