त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमा ‘चित्त नबुझेको कुरा पोख्नुपर्छ, बोल्नुपर्छ, विरोध गर्नुपर्छ, चुपचाप बस्न र सहन हुन्न, सहनु भनेको प्रजातान्त्रिक आचरण होइन’ भन्ने विचार राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “जताततै दलगत राजनीतिबारे सरकार र नेतालाई सम्झाउनुपर्छ । प्रजातान्त्रिक अधिकार खुम्चन नदिन नागरिक समाज बोल्नैपर्छ । थिचोमिचो सह्यो भने प्रजातन्त्र धरापमा पर्छ । सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको आलोचना गर्नुपर्छ । प्रजातन्त्रमा हरेक नागरिक सचेत र सक्रिय हुनुपर्छ ।”
लामो समय प्राज्ञिक, कूटनीतिक र आर्थिक क्षेत्रमा रहेर अनुभवले खारिनुभएका उहाँ नागरिक समाजका प्रतिष्ठित व्यक्तित्व मानिनुहुन्छ । प्रजातन्त्र दिवस–२०८१ को सन्दर्भ पारेर २००७ सालको जनक्रान्ति, त्यसको महत्व, त्यसयता मुलुकमा भइरहेको राजनीतिक अभ्यासलगायत समसामयिक विषयमा प्राध्यापक माथेमासँग राससका निमित्त प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले गर्नुभएको कुराकानीको सम्पादित अंशः
अहिले केमा व्यस्त हुनुहुन्छ ?
– पढ्ने कुरामा विशेष चाख लाग्छ । पढ्दा–पढ्दा थकाइ लागेपछि बगैँचामा काम गर्छु । बाहिर केही आयोजना हुने र आमन्त्रण गरिएका कार्यक्रममा भाग लिन्छु । भरसक घरमा एउटा कुनामा बसेर बढ्न मन लाग्छ ।
मुलुकको अहिले भइरहेको राजनीतिक अभ्यासलाई कसरी लिनुभएको छ ?
–देशको समग्र अवस्थामा पहिलेभन्दा धेरै प्रगति भएको छ । राजनीतिक अभ्यास परिष्कृत पनि हुँदैछ । तर समृद्धिको कोणबाट मुलुक अहिले जुन ठाउँ पुग्नुपथ्र्यो त्यो भने भएको छैन । प्रगतिसँगै विकृति पनि छि¥यो भन्ने लाग्छ । मुलुकको प्रजातान्त्रिक व्यवस्थालाई परिमार्जित र सुधार गर्दै जानुपर्दछ । निर्वाचन प्रणाली धेरै खर्चिलो भएकाले विभिन्न क्षेत्रमा भ्रष्टाचार बढ्यो भन्नेलगायत कुरा सुनिन्छ । त्यसमा के–कसो भएको हो ध्यान दिनुपर्छ । प्रजातन्त्रका लागि योगदान गरेका राजनीतिक दलभित्र ‘प्रजातन्त्र छ कि छैन’ भनी पछिल्लो समय मानिसले सोधिरहेको अवस्था छ । दलभित्र प्रजातन्त्र हुनुपर्छ । प्रजातान्त्रिक पार्टीमा सोअनुसारको आचरण हुनुपर्छ । यो मामिलामा हामीले बाटो बिराएर गयौँ कि भन्ने लागेको छ, त्यसमा सुधार हुनुपर्छ ।
नेपाल प्रजातन्त्र, लोकतन्त्र हुँदै गणन्त्रतको अभ्यासमा रहेको वर्तमान पृष्ठभूमिमा २००७ सालको राजनीतिक परिवर्तनलाई कसरी सम्झनुपर्छ जस्तो लाग्छ ?
– विसं २००७ अघि नेपाली समाजमा खासै केही नभएको बेला प्रजातान्त्रिक नयाँ व्यवस्था आयो । त्यस समयमा सरकार, कर्मचारीतन्त्र, सेना र प्रहरी प्रशासन कसरी चलाउने भन्ने व्यवस्थित संयन्त्र थिएन, त्यसको व्यवस्थापन गर्न ठूलो चुनौती थियो । मु्लुकभर त्यस बेला जम्माजम्मी ११ वटा माध्यमिक र करिब २०० को सङ्ख्यामा प्राथमिक विद्यालय थिए । विश्वविद्यालय थिएन । निजामती प्रशासन पनि राणाको हुकुममा चल्थ्यो । समाजका धेरै क्षेत्रमा सुधार गर्दै लैजानुपर्ने थियो । त्यस अवस्थाबाट यहाँसम्म आइपुग्दा तुलनात्मक रुपमा हेर्ने हो भने धेरै प्रगति हासिल भएको छ । हाम्रो कर्मचारीतन्त्र, सेना, प्रहरी र न्यायालय धेरै व्यवस्थित हुँदै गएका छन् । राणाको हुकुमी आदेश चलेको स्थानबाट देशले धेरै काम गरेर यहाँसम्म आइपुग्नु भनेको २००७ सालमा प्राप्त प्रजातन्त्रकै योगदान हो ।
प्रजातान्त्रिक क्रान्तिको मूल मर्म र भावना के थियो ?
– विसं २००७ को क्रान्तिको सन्देश भनेको भनेकै जहानियाँ राणा परिवारले देश चलाउने होइन । प्रजातान्त्रिक व्यवस्थामा मात्रै जनताका आवाज सुनिन्छ भन्ने हो । त्यो परिवर्तनले मुलुकमा नेपाली जनता सामेल भएको मन्त्रिपरिषद् गठन, आमनिर्वाचन, नयाँ संविधान लेखन मात्र नभई जनताको आवाज सुन्ने तथा देशमा उद्योगधन्दा खोल्ने, चुनावमा भाग लिने र लगानी गर्ने वातावरणसमेत बन्यो । त्यही क्रान्तिको जगमै नेपालले हालसम्मको उपलब्धि र प्रगति हासिल गर्न सम्भव भएको हो ।
विसं २००७ फागुन ७ गतेलाई नेपालको इतिहासमा कसरी लिने गरिएको छ ?
– सहिदलाई सम्झने भनेको वर्षमा एक दिन उनीहरुका परिवारलाई सान्त्वना दिने मात्र होइन । सहिदले केका लागि बलिदानी दिएका थिए भन्ने जान्नुअघि प्रजातन्त्रको महत्व बुझ्न जरुरी छ । प्रजातन्त्रका लागि जीवनको आहुति भएको हुँदा त्यसको महत्व बुझेर सचेत हुनुपर्छ । सहिदलाई सम्झनु भनेको लोकतन्त्र बुझनु र त्यसमा आँच आउन नदिनु हो । नेपालको इतिहासमा २००७ साल भनेको अहिले अभ्यासमा रहेको लोकतन्त्र र गणतन्त्रको जग हो । त्यसको महत्वलाई उजागर गर्ने र संरक्षण गर्ने सबै नेपालीजनको कर्तव्य हो । त्यो मार्गबाट कोही पनि दायाँबायाँ लाग्न हुन्न ।
नेपालको राजनीतिक शासन व्यवस्था परिवर्तनमा सहिद धर्मभक्त माथेमाको ठूलो बलिदानी छ, उहाँको सपना के थियो ?
– सहिद धर्मभक्त मेरो ठूलो बुबा हुनुहुन्थ्यो । उहाँ कलकत्तामा पढ्नुहुन्थ्यो । कलकत्ता त्यसबेलै असाध्यै प्रगतिशील ठाउँ थियो । बेलायती उपनिवेशको महत्वपूर्ण सहर थियो । त्यहाँ एक से एक व्यक्ति बस्थे । आज बङ्गालले जे कुरा सोच्छ, बाँकी विश्वले त्यो भोलि मात्र सोच्छ भन्ने मान्यता लिइन्थ्यो । भारतमा अङ्ग्रेजविरुद्धको आन्दोलनको प्रभाव त्यसबेला धर्मभक्तमा पर्न गयो । नेपालमा पनि प्रजातन्त्र चाहिन्छ भन्ने उहाँमा जागरण पैदा भयो । नेपाल आएपछि राजा त्रिभुवनलाई शारीरिक व्यायाम सिकाउने सिलसिलामा उहाँको दरबारमा प्रवेश भयो । त्यसबेला टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, बालकृष्ण सम, गङ्गालाल, दशरथ चन्दलगायत युवाले प्रजा परिषद् गठन गर्नुभयो । उहाँहरुको एउटै उद्देश्य र सपना भनेको निरङ्कुश शासन अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्नुपर्छ भन्ने थियो । जनताको शासन व्यवस्था हुनुपर्छ भन्नेमा दृढ हुनुहुन्थ्यो ।
मुलुकमा धेरै राजनीतिक व्यवस्था फेरियोे तर जनताको अवस्थामा गुणात्मक परिवर्तन आएन भन्ने टिप्पणीप्रति यहाँको दृष्टिकोण के छ ?
– मुलुकमा केही नभएको भन्ने होइन, धेरै नै भएको छ । युरोप र अमेरिकाजस्तो नहोला तर विश्वविद्यालय, अस्पताल, मेडिकल कलेज, सडक, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । तर सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो उपलब्धिबाट जनताले आफूलाई छोएको अनुभूति ग¥यो कि गरेन भन्ने मुख्य विषय हो । जनताले पनि देश र समाज रुपान्तरणको अभियानमा आफ्नो ठाउँ भरमग्दुर प्रयास गरिरहेको पाइन्छ । उदाहरणका लागि, मकवानपुरको चित्लाङमा जनता आफैँ चिज र वाइन उत्पादन गरिरहेका छन् भने पर्यटन प्रवद्र्धनका विभिन्न कोसिस भइरहेको छ । तथापि अझै नपुगेको जस्तो भइरहेको छ । विभिन्न कारण गाउँबस्तीमा जनसङ्ख्या पातलो हुँदैछ । विश्वविद्यालय र अस्पतालको सुगमताले त्यस्ता ग्रामीण बस्ती बढाउन सहयोग पु¥याउने छ । प्राथमिक विषय भनेको गुणात्मक परिवर्तनका लागि आमजनतामा अब मुलुकमा राम्रो हुँदैछ भन्ने राज्यले अनुभूति दिलाउन सक्नुपर्छ ।
जनअपेक्षालाई सम्बोधन गर्न अब कसरी अघि बढ्नुपर्छ जस्तो लाग्छ ?
– सुनिँदै आएको छ, सरकारले पुँजीगत खर्च गर्न सकेन । त्यो अवस्थाले विकास कसरी सम्भव हुन्छ ? सरकारको पैसाले मात्र विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्न । बाहिरबाट सहयोग र लगानी आउनपर्छ । २५ वर्षअघि म विश्व बैङ्कमा काम गर्थे । त्यसपछि विश्वविद्यालय र राजदूत भई काम गरेँ । सत्य कुरा के हो भने कुनै पनि देश आफ्नो मात्र पैसा लगानी गरेर मात्र धनी भएको छैन । सिङ्गापुर, कोरिया, जापान, चीन, भियतनामलगायत मुलुकले बाह्य स्रोतलाई आकर्षण गरेर सफल भएका हुन् । त्यो नगरी हुन्न । वैदेशिक लगानी भित्र्याउन लगानीकर्ताले लगानी वातावरण, कानुनी प्रक्रिया, मुनाफाको सम्भावना र प्रणालीको सुनिश्चिता खोज्छन् । त्यो नभई लगानी आउन्न । मुलुकको आर्थिक र पूर्वाधार विकासका लागि वैदेशिक लगानी ल्याउनै पर्छ । युवापुस्तालाई रोजगारी दिन उद्योग÷व्यवसाय खोल्न पनि वैदेशिक लगानी अत्यावश्यक हुन्छ । नेपालमा लगानीका लागि पर्यटन क्षेत्रमा पनि ठूलो सम्भावना छ । त्यो क्षेत्रलाई अझै राम्रो तुल्याउनुपर्छ । बढी पैसा खर्च गर्ने पर्यटक भित्र्याउनुपर्छ । देशका नेताहरु विभिन्न क्षेत्रलाई ‘हब’ बनाउने कुरा गर्नुहुन्छ तर त्यसमा गुणस्तरमा ध्यान दिनुपर्छ । गुणस्तर राम्रो भएपछि स्वतः आकर्षण बढ्छ नै । बाह्य स्रोत परिचालन, लगानीका लागि कानुनी प्रक्रिया सहज बनाउने र सुशासन कायम गर्ने कार्यलाई प्राथमिकतामा राखिनुपर्छ ।
जापान जस्तो समृद्ध मुलुकमा राजदूत भएर काम गर्नुभएको अनुभव छ, वास्तवमा देशको परराष्ट्र नीति र छिमेकीसँगको सम्बन्ध कस्तो हुनुपर्छ ?
– परराष्ट्र नीति भन्ने कुरा सरकारको फेरबदलसँगै परिवर्तन हुनु हुँदैन । सरकार बदलिए पनि परराष्ट्र नीति बदलिँदैन, स्थिर भएर काम गरिरहन्छ । परराष्ट्र नीतिको कुरा गर्दा हाम्रा दुई छिमेकी भारत–चीनको चासोलाई सन्तुलित रुपमा कसरी सम्बोधन गर्ने भन्ने विषयलाई केन्द्रमा राखिनुपर्छ । उनीहरुका चासोलाई राम्रोसँग बुझ्नुपर्छ । गहिरो अध्ययन हुनुपर्छ । दुवै छिमेकीलाई चित्त बुझाएर अगाडि बढ्नुपर्छ । एउटाको सहयोग लिँदा अर्को रिसाउने अवस्था सिर्जना हुन दिनुभएन । छिमेकी हुनुका नाताले सहकार्य गर्न चाहन्छौँ भन्ने प्रस्ट धारणा राख्नुपर्छ । त्यसतिर ध्यान पु¥याउनुपर्छ । दुवै देशलाई गहिरोसँग बुझ्न अध्ययन गर्ने संस्था आवश्यक पर्छ । विशेषज्ञको व्यवस्था हुनुपर्छ । उनीहरुसँगको सल्लाहमा सम्बन्ध अघि बढाउनुपर्छं । विश्व अर्थतन्त्रका हिसाबले महत्वपूर्ण रहेका चीन र भारतबाट हामीले लाभ लिनु सक्नुपर्छ । छिमेकीसँगको सम्बन्धलाई सन्तुलित र प्रगाढ तुल्याएर लैजान हाम्रो परराष्ट्र नीति चुक्न हुन्न । छिमेकीलाई मिलाएपछि अरूसँगको सम्बन्ध स्वतः अघि बढ्छ । त्यसका लागि हाम्रा कर्मचारीलगायत संयन्त्रलाई बलियो बनाउनुपर्छ । परराष्ट्र मन्त्रालय पनि व्यवस्थित र व्यावसायिक हुनुपर्छ ।
छिमेकीसँगको सम्बन्ध सन्तुलित रुपमा अघि बढाउन थप के कस्तो नीति अवलम्बन गर्न आवश्यक देखिन्छ ?
– चीनसँग सहकार्य गर्दा भारत सशङ्कित नहोस्, भारतसँग मिल्दा चीनले अप्ठ्यारो महसुस नगरोस् । हामीले भन्न सक्नुपर्छ दुवैसँग मित्रता बढाउन चाहन्छौँ । हामीले एउटासँग मित्रता गर्दा अर्कालाई कुनै असर हुने छैन भनी आश्वस्त पार्न सक्नुपर्छ । चीन र भारतसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ ।
नेपालमा पछिल्ला समय शिक्षाको गुणस्तरमा प्रश्न उब्जाइएको छ, यसप्रति यहाँको धारणा के हो ?
– दलगत राजनीतिले विश्वविद्यालयलाई असाध्यै असर पा¥यो । बाह्य मुलुकमा विश्वविद्यालयलाई प्राज्ञले चलाउने स्थलका रुपमा लिइन्छ । विश्वविद्यालय चलाउने अभ्यासलाई ‘प्राज्ञ–गणतन्त्र’का रुपमा हेरिन्छ । विश्वविद्यालयमा दलगत राजनीति आउनुहुन्न । त्यहाँका विश्वविद्यालयका पदाधिकारी निर्वाचन प्रणालीद्वारा चयन गरिन्छ । विश्वविद्यालयमा राजनीति प्रवेश गर्दा गुणस्तर खुम्चिन्छ । पार्टीका मानिस जिम्मेवारीमा जानु राम्रो होइन । दलगत गन्ध आउनुहुन्न । त्यो बौद्धिक संस्था हो । क्षमतावान् मान्छेलाई जिम्मेवारी दिनुपर्छ । हावर्ड विश्वविद्यालयको डिन मुलुकभित्र नपाएपछि मेक्सिकोका पूर्वस्वास्थ्यमन्त्री ल्याइएको उदाहरण हामीले जानेका छौँ । विश्वविद्यालय हाँक्ने व्यक्तिको छनोट हाम्रोबाट नभई क्षमतावान् राम्रो प्राज्ञिक व्यक्तित्वको छनोट हुनुपर्छ ।
विश्वमै विश्वासिलो, सहासिक र अनुशासित भनी परिचय बनाएका नेपाली युवाको विदेश पलायनलाई कसरी रोक्न सकिन्छ ?
हात्तीलाई दृष्टिविहीनले छामेर विभिन्न कोणबाट अनुमान गरेजस्तै मेरो पनि यसमा आफ्नै खाले बुझाइ छ । युवामा नेपालमै मेरो भविष्य छ, यो क्षेत्रमा गर्न सक्छु । मेरो परिवार र साथीभाइ यहीँ छ, यहीँ बसेर केही गर्छु भन्ने भावना जागृत तुल्याउनुपर्छ । त्यो भावना राज्यको माथिल्लो तहबाटै आउनुपर्छ । त्यसका लागि आवश्यक वातावरण र आश्वस्त तुल्याउन हामीले सकेनौँ । केही समय पर्ख, अब यहीँ हँुदैछ भन्ने उत्साह भर्ने काम हुनुपथ्र्याे । सुशासन कमजोर, बलियो भ्रष्टाचारका कारण सेवाप्रवाहमा भइरहेको झमेलाले पनि युवालाई विदेश यात्रामा निस्कन बल प्रदान गरेको छ । सामान्य रोजगारीका लागि पनि भनसुन र नेताको फेरो समात्नुपर्ने, योग्यता र क्षमताका आधारमा अवसर प्राप्त गर्न नसक्ने अवस्था अन्त्य गरिनुपर्छ । सुशासनका पक्षमा उठेका आवाजलाई सम्बोधन गर्नुपर्छ । यो नभई उनीहरुले मेरो जीवन यहीँ छ, नेपालमै बसेर सफल पार्छु भन्ने खालको विश्वास जगाउन सक्नुपर्छ । सुशासन हुनुप¥यो, भ्रष्टाचार हुन भएन, सजिलोसँग जनताका काम हुनुप¥यो । अहिले त्यसतर्फ राज्यको ध्यान गएको छैन । जहाँ पनि दलगत राजनीतिक स्वार्थ छिरेको छ । त्यसले विकृति मौलाउन सहयोग गरेको छ । मैले एउटा जागिर पाउन कसैको फेरो नसमातीकन योग्यता र क्षमताका आधारमा अवसर पाउनुपर्छ । त्यो विश्वास आमनागरिकमा अलि घटेको अवस्था छ । सबैभन्दा ठूलो कुरा जनताको विश्वास हो । यो सरकार आएपछि राम्रो भएको छ, सुशासन प्रवद्र्धन भएको छ, अब नेपाल बन्दै गएको छ, अब त बन्यो–बन्यो भन्ने भावना जागृत गर्न सक्नुपर्छ । त्यसका लागि राजनीतिक दलको पनि उत्तिकै भूमिका छ ।
राज्यबाट पाउनुपर्ने सेवासुविधाको प्रक्रिया झन्झटिलोलगायतका कारण देखाउँदै नेपाली युवा विद्यार्थी विदेश पलायन भइरहेको अवस्था छ, आमनेपालीलाई आशा जगाउने यहाँका सन्देश केही छन् ?
– चित्त नबुझेको कुरा पोख्नुपर्छ । बोल्नुपर्छ । विरोध गर्नुपर्छ । चुपचाप बस्न र सहन हुन्न । सहनु प्रजातान्त्रिक आचरण होइन । दलगत राजनीतिक जताततै भयो भनी सरकार र नेतालाई सम्झाउन सक्नुपर्छ । प्रजातान्त्रिक अधिकार खुम्चन लाग्यो भने नागरिक समाज अघि आउनुपर्छ, बोल्नुपर्छ । यस्ता गतिविधिले प्रजातन्त्रलाई बलियो तुल्याउँछ । थिचोमिचो सह्यो भने प्रजातन्त्र धरापमा पर्छ । हामीले लागेको कुरा प्रस्ट राख्नुपर्छ । जुनसुकै सरकार भए पनि राम्रा कामको समर्थन र नराम्रा कामको आलोचना हुनुपर्छ । स्वतन्त्र सहभागी हुनुपर्छ । आफू झ्यालबाट हेर्ने, कौसीबाट तल नझर्ने अनि नागरिक समाज खोइ त मात्र भन्ने गर्नुहुन्न । गलत कुराको विरोधमा सबैले सहभागिता जनाउनुपर्छ । प्रजातन्त्रमा हरेक नागरिक सचेत र सक्रिय हुनुपर्छ । त्यसैका लागि आह्वान गर्छु ।