शुक्रबार, फागुन ०९, २०८१

सहकारी सिङ्गो अर्थतन्त्रको आधार : सहकारीमन्त्री बलराम अधिकारी


लुम्बिनी, २ फागुन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी अर्थनीतिका तीन खम्बा मध्येको एक खम्बा मात्र नभएर मुलुकको सिङ्गो अर्थतन्त्रको आधार भएको बताउनुभएको छ ।

आज बुटवलमा आयोजित सहकारी, सुशासन प्रवर्द्धनसम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रको समस्या समाधानका लागि अध्यादेश ल्याएको बताउनुभयो ।

उहाँले सहकारी स्वनियमनकारी निकायका नाममा अत्यन्तै खुकुलो नीति बनाउँदा समस्याग्रस्त बन्दै गएको बताउनुभयो । “अहिले सहकारीबाट लगेको रकम तिर्नुपर्दैन भन्ने भ्रम छरिएको छ र अर्को सहकारीमा किन बचत गर्ने भन्ने भ्रम सृजना गर्ने काम भएका छन्”, उहाँले भन्नुभयो, “देशैभरका सहकारीले एकैपटक यसका विरुद्ध सचेतना अभियान चलाउनु पर्दछ ।

उहाँले सहकारीमा देखिएका समस्या समाधान गर्न विसं २०७४ को सहकारी ऐन पर्याप्त नभएकाले समस्या समाधान गर्न सरकारले अध्यादेश ल्याएको स्पष्ट पार्नुभयो । उहाँले हरेक कानुन समयक्रमसँगै संशोधन आवश्यक हुने भएकाले सहकारीसम्बन्धी अध्यादेश पनि नागरिकका समस्या समाधान गर्न ल्याइएकाले यसमा सहजीकरण गर्न आग्रह गर्नुभयो ।

मन्त्री अधिकारीले वर्षौँदेखि बसिरहेको जमिनको मालिक बनाउन सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको पनि बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन पोखरेलले सहकारी क्षेत्रका असल अभ्यासका विषयमा छलफल र अनुभव आदानप्रदान गर्ने बानीको विकास भएमा सहकारी क्षेत्रलाई सही ढङ्गले अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले सहकारीको बचत रकम अपचलन गर्ने करिब छ सय जना प्रहरी हिरासतमा रहेको र १५ सयभन्दा बढी फरार रहेको जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ