बिहिबार, माघ १७, २०८१

नेपालगञ्जमा नागरिकस्तरबाट क्रियापुत्री भवन निर्माण


राँझा (बाँके), १७ माघः नेपालगञ्जमा नागरिकस्तरबाट रु एक करोड बढीको लागतमा क्रियापुत्री भवन निर्माण गरिएको छ । बढ्दो सहरीकरणका कारण घरघरमा काजक्रिया कर्म गर्न असहज हुँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन निर्माण गरिएको हो ।

करिब तीन कठ्ठा जग्गाभित्र रु एक करोड १६ लाख ६७ हजार ८८० लागतमा साढे दुई तले सुविधा सम्पन्न क्रियापुत्री भवन निर्माण गरिएको निर्माण समितिका संयोजक सेमराज शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार साढे दुई तले उक्त भवनमा पुरुष र महिला क्रियापुत्री अलग अलग बस्ने कुरुवा कोठा र प्रशासनिक प्रयोगका लागि व्यस्था मिलाइएको छ । शहरी क्षेत्रमा डेरामा बस्ने मानिसलाई क्रियाकर्मको संस्कारका काम गर्न अब सहज हुनेछ ।

“हिन्दू धर्ममा जन्म र मृत्यु संस्कार निकै महत्वपूर्ण मानिन्छ, यसै कुराको दृष्टिगत गर्दै नेपालगञ्जको बसपार्क नजिक क्रियापुत्री घर निर्माण गरेका छौँ”, संयोजक शाक्यले भन्नुभयो, “नागरिकस्तरबाट पहल र सहयोगबाट क्रियापुत्री भवन निर्माण गर्न सफल भएका छौँ ।”

नागरिकस्तरमा पहल लिएर निर्माण गरिएको अत्याधुनिक सुविधासहितको क्रियापुत्री भवनको आज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले किरियापुत्री भवनले दुःखद कार्यमा परेका नगरवासीलाई सहजता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालगञ्जमा टड्कारो रूपमा किरियापुत्री भवनको आवश्यकता महसुस हुँदै आएकामा सबैको साझा प्रयास र सहभागिताबाट भवन बन्नु सराहनीय कार्य भएको बताउनुभयो ।

विभिन्न क्षेत्रमा आबद्ध अगुवा समाजसेवीको पहलमा शिव पार्वती मन्दिरको जग्गामा विभिन्न दाता तथा सरकारी स्रोतको साझेदारीमा क्रियापुत्री घर निर्माण गरिएकोे निर्माण समितिका सचिव वसन्त लामिछानेले जानकारी दिनुभयो । नेपालगञ्ज–६ फुल्टेक्रा निवासी माधवी शाहले रु १० लाख प्रदान गरी पहिलो संकल्पकर्ता बनेर नागरिकस्तरबाट क्रियापुत्री घर निर्माणको पहल थालेपछि सबै क्षेत्रबाट सहयोग प्रदान हुँदै आएको उहाँको भनाइ छ ।

नागरिकस्तरबाट निर्माण सम्पन्न भएको क्रियापुत्री भवनका लागि हालसम्म उपमहानगरपालिकाबाट रु पाँच लाख मात्रै सहयोग प्राप्त भएको निर्माण समिति कोषाध्यक्ष अनिता शाहले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading