शनिबार, चैत ०१, २०८१

पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छ : गृहमन्त्री लेखक


भैरहवा (रुपन्देही), २० फागुन : गृहमन्त्री रमेश लेखकले पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी रहेको बताउनुभएको छ । रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै उहाँले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई पर्यटक र आमसेवाग्राहीसँग नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न आग्रह गर्नुभयो ।

कर्मचारीको व्यवहारले नै मुलुकको अवस्था बताउने उल्लेख गर्दै गृहमन्त्री लेखकले सचेत भएर सौहाद्र्रपूर्ण तरिकाले सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभयो । “अध्यागमन भनेको मुलुकको ऐना हो”, उहाँले भन्नुभयो, “कर्मचारीले सेवा दिँदा सभ्यता र विनम्रतापूर्वक ढङ्गले दिनुपर्छ । कहिलेकाहीँ पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन् तर यस्तोबला कर्मचारी विनम्रतापूर्वक प्रस्तुत हुनुपर्छ । सेवाको भावनाले काम गर्नुपर्छ । रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्ने छुट कर्मचारीलाई छैन ।

गृहमन्त्री लेखकले यहाँ निर्माण गरिएका पूर्वाधारले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रुपमा स्थापित गरेको बताउनुभयो । मुलुकका सीमा क्षेत्रमा १३ अध्यागमन कार्यालय रहेका र ती कार्यालयले पर्यटकलाई नेपालमा घुमफिर गर्न सहज बनाएको गृहमन्त्रीको भनाइ थियो ।

पछिल्ला दिनमा सबै नाकाबाट पर्यटक आगमन राम्रो पाइएको छ । यो ठाउँ बुद्ध जन्मस्थल भएकाले धार्मिक पयर्टनको सम्भावना छ । सरकारले पर्यटनमैत्री वातावरण बनाइरहेको छ, पर्यटकको आगमनलाई व्यवस्थित गरिरहेका छौँ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारको लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउँछ ।

नेपालीहरु संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका नागरिक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा जस्तो व्यवहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताउनुभयो । वर्तमान सरकारले समृद्धिलाई पछ्याइरहेको गृहमन्त्रीको भनाइ थियो ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने तथा लगानी र व्यवसायीमैत्री वातावरण बनाउने काम गरिरहेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “परिणाम तत्कालै नदेखिए पनि विस्तारै नतिजा आउँछ ।”  सरकारले संविधानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको गृहमन्त्रीको भनाइ थियो ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा सङ्केतहरु देखापरेको गृहमन्त्री लेखकले बताउनुभयो । “सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको छ । हामीले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न केही अध्यादेश जारी गरेका छौँ, ती अध्यादेशमा समेटिएका विषयवस्तुको सबैले प्रशंसा गर्दै छिटो कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिएका छन्”, गृहमन्त्रीले भन्नुभयो । गृहमन्त्री लेखकले अध्यादेश केही समयमै पारित हुने र आर्थिक क्षेत्रमा थप सुधार आउने दाबी गर्नुभयो ।

सोही कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले लुम्बिनीको प्रवेशद्वार भएकाले यहाँको विकासमा लागिपरेको बताउनुभयो । सीमा क्षेत्रको सडक लामो समय नबन्दा धुलोले स्थानीय र पर्यटकलाई हैरानी भएको उहाँको भनाइ थियो । “यो ठाउँको विकास हुँदा मुलुकले पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने धेरै आधार छन्”, प्रमुख खाँले भन्नुभयो ।

रु १० करोड २५ लाखको लागतमा उक्त कार्यालय भवन निर्माण गरिएको हो । अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी रहेको यो भवनमा अग्नि नियन्त्रण उपकरण जडित छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ